लमजुङ । सुन्दरबजार नगरपालिका–४ का ४४ वर्षीय खुमबहादुर मौरतीको आफैँले पालेको राँगाले हान्दा मृत्यु भएको छ ।
राँगाले हानेर गम्भीर घाइते भएका उनको बेँसीसहरस्थित जिल्ला अस्पतालमा उपचार हुन नसकेपछि थप उपचारका लागि चितवन मेडिकल कलेज भरतपुरमा लैजाने क्रममा बाटोमै मृत्यु भएको जनाइएको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक जगदिश रेग्मीका अनुसार राँगाले शनिवार खुमबहादुरकी १९ वर्षीया छोरी रविनालाई समेत घाइते बनाएको थियो ।
उनको जिल्ला अस्पतालमा उपचार भइरहेको छ । थप घटना हुन नदिनका लागि प्रहरीले राँगालाई गोली हानेर मारेको छ ।
सो राँगाले केही दिनअघिबाटै दिमाग ठीक नभएको संकेत गरे पनि आफैँले पालेको राँगाले केही नगर्ला भनेर राँगा समात्न जाँदा सो घटना हुन पुगेको स्थानीयवासीको भनाइ छ ।











