काठमाडौं । नेपाली कांग्रेसले एमाले अध्यक्ष केपी शर्मा ओलीले झटारो हान्दैमा गठबन्धन नटुट्ने बताएको छ ।
आइतबार नेपाली कांग्रेसले आसन्न निर्वाचनबारे आयोजना गरेको पत्रकारमा बोल्दै पार्टीका प्रवक्ता प्रकाशशरण महतले स्थानीय चुनावले गर्दा सत्तागठबन्धन नटुट्ने बताएका हुन् ।

पत्रकार सम्मेलनमा बौल्दै प्रवक्ता महतले ठाउँ विशेषमा जित्दा वा हार्दा सत्तागठबन्धन नटुट्ने बताए । उनले एमाले अध्यक्ष ओलीले ‘असार १७ पछि गठबन्धन अघि जाँदैन’ भनेर झटारो हान्ने काम गरेको बताउँदै भने, ‘यो पनि उहाँले झटारो हान्नुभएको हो । लक्ष्यमा पुग्दैन बीचमै गिर्छ । हाम्रो तालमेल यथावत रहन्छ । कुनै ठाउँ विशेषको परिणामले गठबन्धन टुट्ने सम्भावना म देख्दिनँ ।’
एमाले अध्यक्ष ओलीले आइतबार पत्रकार सम्मेलन गरी सत्तागठबन्धन असार १७ पछि भत्कने ज्योतिषहरूले बताएको अभिव्यक्ति दिएका थिए । त्यसप्रति लक्षित गर्दै कांग्रेसले आइतबार पार्टी केन्द्रीय कार्यलय सानेपामा पत्रकार सम्मेलन गर्दै सत्तागठबन्धन निरन्तर रूपमा अघि बढ्ने प्रष्टाएको हो ।
उनले ओलीका अभिव्यक्ति मतदातालाई मनोवैज्ञानिक रूपमा प्रभाव पार्न सकिन्छ कि भनेर झटारो हानेको बताए ।
उनले भने, ‘ओलीजीले मनोवैज्ञानिक प्रभाव दिन खोज्नुभएको हो । सत्तागठबन्धन टिक्दैन किन मतदान गर्नुहुन्छ भन्ने उहाँले मनोवैज्ञानिक क्षेप्यास्त्र प्रयोग गर्नुभएको हो । तर उहाँको क्षेप्यास्त्र बीचमै खस्छ ।’ प्रवक्ता महतले ओलीको विषेषता भनेकै मनोरञ्जन दिने, हसाउने, उखान उक्का जोड्ने भएको टिप्पणी गरे ।











