काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले गठबन्धनको सरकार आएपछि अलच्छिन लागेको टिप्पणी गरेका छन् ।
सोमबार ललितपुरमा आयोजित चुनावीसभालाई सम्बोधन गर्दै एमाले सरकारमा हुँदा लच्छिनै लच्छिन र गठबन्धनको सरकार आएपछि अलच्छिनै अलच्छिन भएको बताए ।

उनले अहिले सरकारसँग विकासका काम गर्न पैसा नभएको दाबी गरे । उनले भने, ‘एमालेका पालामा विकासका लागि पैसा छैन भनेको कहिल्यै सुन्नुभो ? ‘एमाले सरकार आउँ लच्छिनै लच्छिन, गठबन्धन आएपछि अलच्छिनै अलच्छिन । अहिले बाटो बनाउन, अस्पताल बनाउन, कलेज बनाउन केही गर्न पनि पैसा छैन ।’
अहिलेसँग आयात गर्ने पैसा नभएको र नयाँ आयोजना सुरु गर्न बैंकबाट ऋण नपाउने पनि बताए । उनले भने, ‘अब सरकारसँग आयात गर्ने पैसा छैन । निर्माण गरिसकेकाको रकम भुक्तानी दिन सक्दैन । नयाँ आयोजना सुरु गर्न बैंकबाट ऋण पाउन सक्दैन । देश अभावै अभावले ग्रस्त भएको छ । कस्तो अलच्छिन लागेको ?’
सरकारलाई मिल्काउनका लागि अझै सात महिना पर्खिनुपर्ने ओलीले बताए । उनले भने, ‘मंसिरमै संसदीय चुनाव गर्ने हो भने पनि यो सरकारलाई टिपेर मिल्काउनका लागि अझै सात महिना लाग्छ । त्यतिबेलासम्म देशको अवस्था के होला ?’











