Logo
Logo

आइजिपीको सचिवालयमै चोरी ?



काठमाडौं । ३० वर्षे सेवाहद हटाएर ३२ वर्षे लागू गर्ने प्रयासमा लागेका पुष्पराम केसी २१ दिन सशस्त्र प्रहरीको नेतृत्व सम्हालेर बिदा भए । अन्तिम दिनसम्म पनि उनी शक्तिकेन्द्र धाइरहेका थिए । तर, खर्च मात्र भएको र प्रयास असफल भएको भन्दै उनी निराश बने ।

छोटो अवधिमै केही गर्न खोजेको देखाउने प्रयास गरे पनि उनी विवादमुक्त बन्न सकेनन् । यो अवधिमा काम गर्ने नाममा उनले संगठनमा आतंक मच्चाएको सशस्त्र प्रहरी अधिकारीहरु बताउँछन् ।

आफ्नो कार्यकालमा उनले दुईवटा नयाँ काम गरेको बताउने गरेका छन् । एउटा अनुगमन इकाईको स्थापना । तर, त्यसको नाममा मातहतका कार्यालयका प्रमुखलाई केही दिन आतंक मात्र मच्चाइएको थियो ।

दोस्रो काम सशस्त्र प्रहरी संग्रालयको स्थापना । सशस्त्रको बैंकेट हलमा केही सामान राखेर संग्रालय बनाइएको छ । आर्थिक नियमावली मिचेर बिना टेण्डर तथा कोटेशन संग्राहलय बनाउन लाखौं बजेट खर्च भएकाले त्यसमा अनियमितता भएको आशंकासमेत गरिएको छ । यसमा छानबिन हुँदा फस्ने डर लेखाका कर्मचारीको छ ।

त्यसो त डिएसपी बढुवामा पनि केसी विवादमा परे । आफू निकट उमेश थापालाई पहिलो नम्बरमा बढुवा गरे भने यसअघि ७० नम्बरमा रहेका विनोद कार्कीलाई २० नम्बरमा तानेर बढुवा गरिएको थियो । उनीहरु दुवै जना सचिवालयमा बसेका थिए । दुई हप्ता उनीहरुको चुरीफुरी देखेर सशस्त्रकै कर्मचारी लज्जित बनेका थिए ।

उनीहरुले ल्यापटपबाटै सचिवालय चलाएका थिए । अर्काेतर्फ आइजिपीको अवकाशसँगै सशस्त्र महानिरीक्षकको सचिवालयमा रहेका सोभेनियरलगायत केही सामानहरु ‘चोरी’ भएको चर्चा पनि सशस्त्र प्रहरीमा छ । यसमा सचिवालयमा काम गर्ने प्रहरीमाथि प्रश्न उठेको छ ।

यस्ता अनेक विकृति रहेको सशस्त्र प्रहरीमा सुधारका काम नवनियुक्त आइजिपी राजु अर्यालका लागि निकै चुनौतीपूर्ण देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्