Logo
Logo

सर्लाहीको एक मतदानस्थल सेनाको नियन्त्रणमा


8.9k
Shares

सर्लाही । स्थानीय तह निर्वाचनअन्तर्गत सर्लाहीको कौडेना गाउँपालिकामा राजनीतिक दलका कार्यकर्ताबीच पटक–पटक झडप भएपछि एक मतदानस्थल नेपाली सेनाले नियन्त्रणमा लिएको छ ।

कौडेना गाउँपालिका–६, श्री जनता आधारभूत मतदान स्थलमा बिहानदेखि पटक–पटक झडप भएपछि केहीबेर अघिमात्र घटनास्थल सेनाले नियन्त्रणमा लिएको हो ।

मतदान स्थलमा तत्काल आइपुगेको सेनाको टोलीले फायर नगरे पनि हतियार तेर्साएपछि स्थिति तत्काल शान्तिपूर्ण बनेको स्थानीय संचारकर्मी निरज यादवले जानकारी दिए ।

कांग्रेस, लोसपा र जसपाका कार्यकर्ताबीच विवाद हुँदा झण्डै १ घण्टा अवरुद्ध भएको मतदान कार्य केहीबेर पछि पुनः झडप भएको र सेनाको टोलीले घटनास्थल नियन्त्रणमा लिएको हो ।
त्यस्तै धनकौल गाउँपालिका–२, पशु सेवा केन्द्र मतदान स्थलमा झडप भएपछि सुरक्षाकर्मीले एक दर्जन बढी हवाई फायर गरेका छन् ।

मतदान सुचारु गर्न अहिले त्यहाँ सर्वदलीय बैठक भइरहेको प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतमले जानकारी दिए । धनकौलको उक्त मतदान स्थललाई नियन्त्रणमा लिन काठमाडौंबाटै नेपाली सेनाको विशेष टोली हेलिकप्टरबाट उत्रिएको छ ।

जिल्ला स्थित अधिकांश मतदान केन्द्रहरूमा भने मतदान कार्य सुचारु रहेको प्रहरीले जनाएको छ । सर्लाहीमा ३१८ मतदान स्थल अन्तर्गत ५९९ मतदान केन्द्र रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्