काठमाडौं । आज बिहान सात बजेदेखि देशैभर स्थानीय तह निर्वाचन भइरहेको छ । देशका विशिष्ट व्यक्तित्व तथा पार्टीका शीर्ष नेताहरू पनि आ-आफ्ना क्षेत्र पुगेर मतदान गरेका छन् ।
मतदानपछि पार्टीका शीर्ष नेताहरुको एकले अर्काको उछितो काडेका छन् । चुनावका दिन पनि शीर्ष नेताहरुबीच वादप्रतिवाद भएको छ ।

नेपाली कांग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा गृहजिल्ला डडेल्धुराको गन्यापधुरा गाउँपालिकाको रुवाखोलास्थित असिग्राम माध्यामिक विद्यालयस्थित मतदान केन्द्रबाट मतदान गरेका छन् । भोट खसाल्दै सरकारले चुनावसम्बन्धी सबै भ्रम चिरेको दाबी गरे ।
उनको प्रतिस्पर्धी दल एमालेका अध्यक्ष केपी ओलीले भक्तपुरबाट देउवाको टिप्पणीको जवाफ एकै छिनपछि दिएका छन् ।
देउवाले निर्वाचनविरोधी शक्तिहरूलाई समेत सहभागी गराएर ३० वैशाखमै निर्वाचन गराउनु सरकारको सफलता भएको बताएका थिए । उनले त्यसो भनेर एमालेसमेतलाई संकेत गर्न खोजेका थिए । उनले व्यंग्य गर्दै भनेका थिए, ‘चुनाव हुँदैन हुँदैन भन्ने केपी ओलीजीले पनि मतदान गर्नुभयो होला, अवाञ्छित क्रियाकलाप र तौरतरिका अपनाएर रोक्न खोजियो, हामीले चुनाव गरायौँ । आज सबैले भोट हालिरहेको देखिरहनुभएको छ ।’
भक्तपुरको सूर्यविनायक नगरपालिका-२ बालकोटस्थित महेन्द्र शान्ति माविस्थित मतदान केन्द्रमा एमाले अध्यक्ष ओलीले मतदान गरेपछि उनलाई सञ्चारकर्मीले देउवाले भनेका कुरा सोधिहाले ।
‘तपाईंले नचाहे पनि शंकाकै बीचमा चुनाव गर्न सफल भएको भनी देउवाले बोलेको कुरामा तपाईंको टिप्पणी के छ ?’ भनी सञ्चारकर्मीले मतदानस्थलमा सोधेको प्रश्नमा ओलीको जवाफ थियो-
‘वैशाख ९ गते उहाँले चुनाव सारौँ भनी प्रस्ताव पठाउनुभएको थियो, मैले देशलाई यस्ता कुरा गरेर अब द्वन्द्वतिर नधकेल्नुहोस् भनेँ, अलोकतान्त्रिक बाटो नहिँड्नुहोस् भनेर अलिक राम्रैसँग खबर पठाएको थिएँ । निर्वाचन रोक्ने कुरामा सहमति हुन नसकेपछि, कानुनले बाध्यता भएपछि उहाँहरू तयार भएको हो । त्यसैले गफै नगरे हुन्छ ।’
त्यस्तै पूर्वप्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चितवनको भरतपुर महानगरपालिका-१४ शान्तिपुरस्थित मतदान केन्द्रबाट मतदान गरेका छन् ।
मतदानपछि उनले निर्वाचनमा जित र हार स्वाभाविक भएको प्रतिक्रिया दिए । उनले भने, ‘जित्ने र हार्ने कुरा निर्वाचन प्रक्रियामा स्वाभाविक हो भनेर मान्नुपर्छ, सथानीय तह नै जनताको विश्वास, समृद्धि, शान्ति र स्थिरताको आधारशीला हो ।’
पूर्वप्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले रौतहटको गौर नगरपालिका–२ को मतदान केन्द्रबाट मतदान गरेका छन् । मतदानपछि उनले निर्वाचन प्रभावित पार्न पैसाको खेलो र भोजभतेर भएको भन्दै त्यसलाई रोक्न निर्वाचन आयोग सफल नभएको प्रतिक्रिया दिए ।
पूर्वप्रधानमन्त्री तथा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले इमालको सूयोदय नगरपालिका–१ राष्ट्रिय निम्न माध्यमिक विद्यालय मतदान केन्द्रबाट मतदान गरेका छन् ।
मतदान पश्चात् सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले विकासको मेरुदण्ड स्थानीय तहको सरकार भएको बताए । ‘आम जनसमुदाय बस्ने वाडबाट विकास हुनुपर्छ । अहिलेको संविधानले संघीय संरचना निर्माण गरेको छ,’ उनले भने, ‘स्थानीय तहको सरकारको माध्यमाबट पूर्वाधार विकास,कृषि औधोगिकरण वातावरण संरक्षण शिक्षा लगायतको क्षेत्रमा काम गर्नुपर्छ ।’
पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टी (जसपा)का संघीय अध्यक्ष डा. बाबुराम भट्टराईले गोरखाको पालुङटार नगरपालिका–१ स्थित अन्नपूर्ण मावि मतदान केन्द्रबाट मतदान गरेका छन् । मतदातलगत्तै उनी विवादमा तानिएका छन् ।
आफूले गरेको गोप्य मतदान सामाजिक सञ्जालमा सार्वजनिक गरेपछि विवादमा तानिएकाले त्यसबारे प्रस्ट पारेका छन् । ‘लोकतन्त्रको आधार भनेको व्यक्तिले आफ्नो विचाररमत खुला रूपमा व्यक्त गर्न र प्रचारप्रसार गर्न पाउनु हो । मतदान गोप्य नै हुनुपर्छ भन्ने कुनै सिद्धान्त हुँदैन । गोप्य मतदान भनेको कसैले आफ्नो मत गोप्य राख्न चाहन्छ भने उसलाई त्यो छुट दिने भनेको हो । तर कसैले खुला गर्छ भने रोक्ने भनेको हैन !’ उनले भनेका छन् ।
नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले तनहुँको व्यास नगरपालिका–२ को सत्यवती मावि केन्द्रबाट मतदान गरेका छन् ।
नेता पौडेलले स्थानीय निर्वाचन, स्थानीय सरकारका लागि भएपनि यो निर्वाचनले लोकतन्त्रको संस्थागत गर्ने र मुलुकलाई कुन बाटोमा लैजाने भन्ने मार्ग निर्देशन गर्ने बताए । उनले नेपाली जनाता लोकतन्त्रको पक्ष र हिंसाका विरुद्धमा रहेको बताए ।











