काठमाडौं । स्थानीय तहको निर्वाचनअन्र्तगत मतदान कार्य सकिएको छ । शुक्रबार मुलुकभरका ७५३ पालिकामा प्रतिनिधि छान्न ७७ वटै जिल्लामा मतदान भएको हो ।
छिटपुट घटनाबाहेक समग्रमा मतदान शान्तिपूर्ण र उत्साहजनक रूपमा सम्पन्न भएको निर्वाचन आयोग जनाएको छ । मतदान सकिएपछि कहाँ–कहाँ मतदान प्रभावित भयो भन्ने अन्तिम तथ्यांक आउन बाँकी रहेको आयोगले जनाएको छ ।

आयोगले मतदानका लागि बिहान ७ बजेदेखि बेलुका ५ बजेसम्मको समय छुट्याएको थियो । उक्त समयमा मतदानका लागि लाइनमा बसेका मतदाताहरूले भने मतदान गर्न पाउनेछन् । देशभर कति प्रतिशत मत खस्यो भन्ने आयोगले सार्वजनिक गरिसकेको छैन । यसअघि अपरान्ह ४ बजेसम्म ५५ प्रतिशत मतदान भएको आयोगले जनाएको थियो ।
मत गणनापछिमात्रै परिणाम सार्वजनिक हुने भए पनि मतदानबाट मुलुकभर ३५ हजार २ सय २१ जनप्रतिनिधि निर्वाचित गर्न मतदाताले आफ्नो जनप्रतिनिधि चयन गरिसकेका छन् । जसमध्ये ३ सय ९० जना निर्विरोध निर्वाचित भैसकेका छन् । तीबाहेक १ लाख ९ हजार ७९० जना पराजित हुन पुग्नेछन् ।
७७ जिल्लाका ७ सय ५३ स्थानीय तहमा १ लाख ४५ हजार ११ जना उम्मेदवार चुनावी मैदानमा छन् । जसमध्ये पुरुष उम्मेदवार ८९ हजार ३ सय १३ जना र महिला उम्मेदवार ५५ हजार ६ सय ९८ जना रहेका छन् । यो सङ्ख्याबाट जम्मा ३५ हजार २ सय २१ जनप्रतिनिधि निर्वाचित हुनेछन् । साथै हालसम्म ३ सय ९० जना निर्विरोध निर्वाचित भएको आयोगले जनाएको छ ।











