काठमाडौं । निर्वाचन आयोग १४ जिल्लाका केही पालिकामा मतदान स्थगित भएको जनाएको छ । शुक्रबार बेलुका पत्रकार सम्मलेन गरेर प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले सो जारकारी दिएका हुन् ।

उनका अनुसार १४ जिल्ला, १७ स्थानीय तहका, २८ मतदानस्थलका ४४ मतदान केन्द्रमा मतदान स्थगित भएको छ । आयोगका अनुसार जुम्ला, सप्तरी, काभ्रे, रौतहट, रामेछाप, बारा, बाजुरा, पर्वतलगायत जिल्लाका केही मतदानस्थलमा विवाद भएका कारण मतदान कार्य अवरुद्ध भएको छ ।
उनले स्थगित भएको ठाउँमा छिट्टै मतदान गर्ने बताए । ‘स्थगित भएको ठाउँमा छिट्टै पुनः मतदान हुन्छ। त्यहाँ वस्तुस्थितिबारे जानकारी लिने काम भइरहेको छ,’ उनले भने ।
उनले छिटपुट घटनाबाहेक शान्तिपूर्ण र उत्साहजनकरूपमा सम्पन्न भएको जनाएको छ ।














