
काठमाडौं । पोखरा महानगरपालिकामा शनिबारबाट मात्र मतगणना सुरु हुने भएको छ । मतपेटिका संकलन गरिसक्दा रातको १२ बज्न सक्ने अनुमान गरिएको छ ।
महानगरमा रहेका २४२ मतदान केन्द्रबाट मतपेटिका ल्याउन ढिलाइ हुने भएकाले शनिबारदेखि मतगणना सुरू गर्ने तयारी गरिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयका अधिकृत निलप्रसाद पनेरूले जानकारी दिए ।
अधिकृत पनेरुका आनुसार शनिबार विहान सर्वदलीय बैठक बसेपछि मात्र मतगणना सुरु गर्ने तयारी गरिएको छ ।
पोखरामा करिब ६० प्रतिशत मतदान भएको प्रारम्भिक अनुमान गरिएको छ । २ लाख ७ हजार ७ सय १२ मतदातामध्ये ६० प्रतिशतले मतदान गरेका अनुमान गरिएको हो ।
अघिल्लो निर्वाचनमा पोखरामा १ लाख ६८ हजार मतदातामध्ये १ लाख २५ हजार ८ सय ५३ जनाले मतदान गरेका थिए । गत निर्वाचनमा करिव ७४ प्रतिशत मतदान भएको थियो । यसपटक भने मतदान गर्नेको संख्या घटेको हो ।
पोखरा महानगरपालिकाको मेयर पदमा सत्तारुढ गठबन्धनबाट नेकपा एकीकृत समाजवादीका धनराज आचार्य र नेकपा एमालेबाट कृष्णबहादुर थापा प्रतिस्पर्धामा रहेका छन् । त्यसैगरी, उपमेयरमा सत्तारुढ गठबन्धनबाट कांग्रेसका कोपिला रानाभाट र एमालेबाट मञ्जेदेवी गुरुङ प्रतिस्पर्धामा छन् ।














