Logo
Logo

ललितपुर, पोखरा र वीरगन्जको मतगणना शनिबार मात्र


3.3k
Shares

काठमाडौं । ललितपुर महानगरपालिकाको मतगणना आजबाट सुरु नहुने भएको छ । शनिबार बिहान ७ बजे बस्ने सर्वदलीय बैठकपछि मात्र मतगणना सुरु हुने भएको छ ।

ललितपुरका मुख्य निर्वाचन अधिकृत किरणप्रसाद शिवाकोटीका अनुसार बिहान ७ बजे सर्वदलीय बैठक बस्ने सहमति भएको छ । सहमति अनुसार विहान ७ बजे बैयठक बसेपछि मात्र मतगणना सुरु हुने भएको हो ।

ललितपुर महानगरमा मेयर पदका लागि पाँच दलीय गठबन्धनबाट कांग्रेसका चिरीबाबु महर्जन र उपमेयरमा माओवादी केन्द्रबाट बाबुराज बज्रचार्य प्रतिस्पर्धामा रहेका छन् । त्यसैगरी, एमालेबाट मेयरका उम्मेदवार हरिकृष्ण व्यञ्जनकार र उपमेयरमा मन्जली शाक्य प्रतिस्पर्धी हुन् ।

महानगर महानगरमा १ लाख २२ हजार ८ सय ९० मतदाता रहेको छन् । त्यसमध्ये ८६ हजार ५ सय ४० जनाले मतदान गरेका छन् ।

०००

त्यसैगरी, पोखरा महानगरपालिकामा शनिबारबाट मात्र मतगणना सुरु हुने भएको छ । मतपेटिका संकलन गरिसक्दा रातको १२ बज्न सक्ने अनुमान गरिएको छ ।

महानगरमा रहेका २४२ मतदान केन्द्रबाट मतपेटिका ल्याउन ढिलाइ हुने भएकाले शनिबारदेखि मतगणना सुरू गर्ने तयारी गरिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयका अधिकृत निलप्रसाद पनेरूले जानकारी दिए ।

अधिकृत पनेरुका आनुसार शनिबार विहान सर्वदलीय बैठक बसेपछि मात्र मतगणना सुरु गर्ने तयारी गरिएको छ ।
पोखरामा करिब ६० प्रतिशत मतदान भएको प्रारम्भिक अनुमान गरिएको छ । २ लाख ७ हजार ७ सय १२ मतदातामध्ये ६० प्रतिशतले मतदान गरेका अनुमान गरिएको हो ।

अघिल्लो निर्वाचनमा पोखरामा १ लाख ६८ हजार मतदातामध्ये १ लाख २५ हजार ८ सय ५३ जनाले मतदान गरेका थिए । गत निर्वाचनमा करिव ७४ प्रतिशत मतदान भएको थियो । यसपटक भने मतदान गर्नेको संख्या घटेको हो ।

पोखरा महानगरपालिकाको मेयर पदमा सत्तारुढ गठबन्धनबाट नेकपा एकीकृत समाजवादीका धनराज आचार्य र नेकपा एमालेबाट कृष्णबहादुर थापा प्रतिस्पर्धामा रहेका छन् । त्यसैगरी, उपमेयरमा सत्तारुढ गठबन्धनबाट कांग्रेसका कोपिला रानाभाट र एमालेबाट मञ्जेदेवी गुरुङ प्रतिस्पर्धामा छन् ।

०००

त्यसैगरी, पर्साको वीरगन्ज महानगरपालिकाको मतलगणना शनिबार विहानबाट मात्र सुरु हुने भएको छ । आज राती अबेर सम्ममा मात्र मतपेटिक संकलन भइसक्ने भएकाले भोलीबाट मतगणना गर्न लागिएको हो ।

वीरगन्जका प्रमुख निर्वाचन अधिकृत धर्मराज पौडेलका अनुसार मतपेटिका संकलन भइरहेको छ । मतपेटिका संकलन गरिक्दा रातको १–२ बज्नेछ ।

आज मतपेटिका संकलन गरिसकेर भोली विहानै सर्वदलीय बैठक राखी मतगणना सुरु गर्ने निर्वाचन अधिकृत पौडेलले तयारी गरेका छन् ।

वीरगन्ज महानगरपालिकाका १४३ मतदान केन्द्रमार्फत करिब ७० देखि ७५ प्रतिशतले मतदान गरेको प्रारसम्भिक अनुमान गरिएको छ । वीरगन्ज महानगरमा १ लाख २४ हजार ६ सय ४७ जना मतदाता रहेका छन् । जसमध्ये ७० हजार ८१० जना पुरुष र ५३ हजार ८३३ जना महिला मतदाता हुन् ।

वीरगन्जमा सत्तारुढ गठबन्धनबाट जनता समाजवादी पार्टीका राजेशमान सिंह र नेकपा एमालेबाट विजयकुमार सरावगी मेयरका मुख्य प्रतिस्पर्धी हुन् । त्यसैगरी, उपमेयरमा सत्तारुढ गठबन्धनबाट इम्तियाज आलम र लोकतान्त्रिक समाजवादी पार्टीका पुरुषेतमलाल झा मुख्य प्रतिस्पर्धी हुन् ।

प्रतिक्रिया दिनुहोस्