
भक्तपुर । भक्तपुरका दुई स्थानीय तहको निर्वाचनको मतगणना सुरु भएको छ ।
केहीबेर अघिदेखि मध्यपुरथिमि र सूर्यविनायक नगरपालिकामा मतगणना सुरु भएको हो । चाँगुनारायण र भक्तपुर नगरपालिकामा भने आज बिहान ८ बजेपछि मतगणना सुरु गर्ने सर्वदलीय बैठकले निर्णय गरेको छ ।
प्राप्त पछिल्लो परिणाम अनुसार भक्तपुरको मध्यपुरथिमि नगरपालिकामा नेपाली कांग्रेसले अग्रता लिएको छ । नगरप्रमुखमा कांग्रेसका सुरेन्द्र श्रेष्ठले २१७ र नेकपा (एमाले)का मदन सुन्दर श्रेष्ठले १४९ मत ल्याएका छन् ।
त्यसैगरी, उपप्रमुखमा एमालेकी उत्तरा नेपालले १७२ र गठबन्धनका उमेदवार नेकपा (माओवादी केन्द्र)का विजय कृष्ण श्रेष्ठले १५२ मत ल्याएका छन् । उता सूर्यविनायक नगरपालिकामा एमालेका उम्मेदवार वासुदेव थापाले अग्रता कायम गरेका छ्न ।
पछिल्लो मतगणना अनुसार उनले १९७ मत ल्याएका छन् । त्यसैगरी, एमालेबाट उपप्रमुखकी उम्मेदवार सरिता भट्टराईले पनि १९७ मत तथा वडाध्यक्षका उम्मेदवारले पनि १९७ मत ल्याएका छन् ।
त्यस्तै, गठबन्धनबाट कांग्रेसतर्फ नगरप्रमुखका उम्मेदवार निशान ढुंगेलले ६३ तथा उपप्रमुखमा गठबन्धनबाट नेकपा (एकीकृत समाजवादी) का श्यामसुन्दर बस्नेतले १५ मत ल्याएका छन् ।
यसैगरी, राप्रपाका उम्मेदवारले प्रमुख र उपप्रमुखमा ७०–७० मत ल्याएका छन् ।














