दार्चुला । व्यास गाउँपालिका–१ को छाङ्गरु र तिङ्करको मतपेटिका ल्याउन हेलिकप्टर त्यसतर्फ प्रस्थान गरेको छ ।
जिल्लाको सबैभन्दा विकट ठाउँ रहेको छाङ्गरु तिङ्करको मतपेटिका ल्याउन नेपाली सेनाको हेलिकप्टर छाङ्गरु प्रस्थान गरेको हो । दुई मतदान केन्द्र रहेको वडा नं. १ को मतपेटिका छाङ्गरुमा राखिएको छ ।
मतपेटिकालाई हेलिकप्टरमार्फत गाउँपालिका केन्द्र सुनसेरा ल्याइने प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायले जानकारी दिए । नेपालतर्फ बाटो नभएकाले हेलिकप्टरको प्रयोग गरेर मतपेटिका र कर्मचारी ल्याउन लागिएको हो ।
गत शनिवार छाङ्गरु र तिङ्करमा निर्वाचन सामग्री, सुरक्षाकर्मी र निर्वाचनमा खटाइएका कर्मचारी हेलिकप्टरमार्फत पुर्याइएको थियो । व्यास गाउँपालिका–१ का दुई मतदान केन्द्रमा ३५० बढी मत खसेको छ ।
मोती महिला संघ आधारभूत विद्यालय तिङ्करमा १३६ र कैलाशपति आधारभूत विद्यालय छाङ्गरुमा मत खसेको हो । तिङ्कर मतदान केन्द्रमा ७३ पुरुष र ६३ महिला मतदानमा सहभागी भएका सशस्त्र प्रहरी बल नेपाल नं. ५० गुल्मका गुल्मपति धीरेन्द्र शाहले जानकारी दिए ।
सो मतदान केन्द्रमा एक घण्टाअघि नै मतदान सकिएको थियो । तिङ्कर मतदान केन्द्रमा कूल १११ पुरुष र १२० महिला मतदाता थिए । कैलाशपति आधारभूत विद्यालय छाङ्गरुको मतदान केन्द्रमा ११२ महिला र १०७ पुरुषले मतदान गरेका जनाइएको छ ।
यो मतदान केन्द्रमा १७७ पुरुष र १९९ महिला मतदाता थिए । व्यास गाउँपालिकाका छवटै वडामा पाँच हजार ४८६ मत खसेको निर्वाचन अधिकृतको कार्यालय सुनसेराले जनाएको छ ।














