दाङ । दाङको घोराही उपमहानगरपालिका र लमही नगरपालिकाको मतगणना सुरु भएको छ ।
बिहान सर्वदलीय बैठक सकिएपछि भर्खरै घोराही उपमहानगरको मतगणना सुरु भएको हो । अहिले घोराही उपमहानगरको १ नम्बर र १४ नम्बर वडाबाट मतगणना सुरु भएको छ ।
घोराहीमा नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र)बीच तालमेल छ । गठबन्धनबाट माओवादी केन्द्रका नेता हेमराज शर्मा मेयरमा र कांग्रेसबाट भुपबहादुर डाँगीले उपमेयर उम्मेदवारी दिएका हुन् ।
एमालेबाट मेयरमा नरुलाल चौधरी र उपमेयरमा हुमा डिसी प्रतिष्पर्धामा छन् । अहिले घोराहीको पुरानो बसपार्कमा रहेको सिटी हलमा मत गणना भई रहेको छ ।
यस्तै लमही नगरको सर्वदलीय बैठक सकिएपछि वडा नम्बर ९, ५ र १ बाट मतगणना सुरु भएको छ । मेयर र उपमेयरमा त्रिपक्षीय भिडन्त हुने देखिएको छ ।
कांग्रेसबाट मेयरमा जोगराज चौधरी, उपमेयरमा लक्ष्मी योगी, एमालेबाट मेयरमा दण्डिराम चौधरी, उपमेयरमा सुशीला चौधरी र माओवादी केन्द्रबाट मेयरमा बसन्तराज शर्मा र उपमेयरमा गंगा पाण्डेले उम्मेदवारी दिएका छन् ।














