Logo
Logo

माइनस २० डिग्री, आगोको भर , वैशाखको उखरमाउलो गर्मीमा प्रहरीलाई ज्याकेट आउने




काठमाडौं ।

शभरिका प्रहरी कार्यालयले ज्याकेटको माग गर्दै मंसिरदेखि नै प्रधान कार्यालयमा ताकेता गर्न थालेका हुन् । तर, प्रधान कार्यालयले पुस दोस्रो हप्ता मात्रै साढे १५ हजार ज्याकेट खरिद गर्न प्रक्रिया अघि बढाएको छ । टेन्डरलगायत सबै प्रक्रिया सकिएर ज्याकेट आउँदा चर्को गर्मी सुरु भइसक्नेछ ।

समयमा खरिद नहुँदा धेरै प्रहरी यस वर्ष पनि माइनस २० डिग्री सेल्सियससम्मको कठ्यांग्रिने जाडोमा ज्याकेट नलगाई ड्युटी गर्न बाध्य छन् । खासगरी नयाँ भर्ना भएका प्रहरीले ज्याकेट पाएका छैनन् । उपत्यकासहित देशैभरिका प्रहरी कार्यालयमा यस्तो समस्या छ । प्रहरीको केन्द्रीय तथा प्रदेशस्तरको भण्डार रित्तो छ ।

प्रशासन विभाग र प्रबन्ध शाखा लामो समय नेतृत्वविहीन भएकाले ज्याकेट खरिदमा ढिलाइ भएको हो । दुवै निकायमा प्रमुख आएपछि खरिद प्रक्रिया अघि बढाइएको हो । प्रहरी प्रवक्ता एसएसपी उत्तम सुवेदीले विगतमा समयमै ज्याकेट खरिद हुन नसक्दा अहिले समस्या देखिएको बताए । ‘ज्याकेट पर्याप्त नहुनुको एउटा कारण विगतमा आपूर्तिकर्ताले गुणस्तरहीन सामान दिन खोजेपछि टेन्डर नै रद्द गरेर बजेट फ्रिज हुन पुगेको थियो,’ प्रवक्ता सुवेदीले भने, ‘अर्को कारण भनेको नयाँ दरबन्दीअनुसार खरिद गर्न समय लाग्ने गरेको छ ।’

प्रहरीलाई हरेक ३ वर्षमा ज्याकेट दिनुपर्ने व्यवस्था छ । तर, कुनै पनि प्रहरीले स्केलअनुसार ज्याकेटलगायत सुविधा पाउने गरेका छैनन् । पाए पनि कमसल हुन्छन् । धेरै प्रहरी थोत्रा ज्याकेट लगाएर ड्युटी गरिरहेका छन् । कतिपय जिल्लामा एउटै ज्याकेट पालैपालो लगाएर पनि प्रहरीले ड्युटी गर्नुपर्ने बाध्यता छ । आजको नयाँपत्रिका दैनिकमा समाचार छापिएको छ ।

ओलाङचुङगोलामा न्यूनतम तापक्रम माइनस २० डिग्री, निरीक्षणमा गएका डिआइजी भन्छन्, ‘आगो तापेर ड्युटी गर्छन् प्रहरी’

डिआइजी केदार रिजाल भन्छन्: म मंसिर २० गते ओलाङचुङगोला पुगेको थिएँ । त्यहाँ असइको कमान्डमा सात प्रहरी कार्यरत छन् । त्यहाँ प्रहरीलाई निकै गाह्रो छ । सञ्चारको सुविधा छैन । घाम लागेका वेला मात्र भिस्याटले काम गर्छ । अहिले त अत्यधिक चिसो छ । आगो तापेर प्रहरीले त्यहाँ ड्युटी गर्दै आएका छन् । जाडोको समयमा त १–२ जनाबाहेक गाउँले पनि त्यहाँ बस्दा रहेनछन् । मोटरबाटोबाट हिँडेर जान डेढ दिन लाग्छ । म गएको दिन हेलिकोप्टरबाटै उनीहरूलाई हिमाली ज्याकेट लगिदिएको थिएँ । त्यो दिन घाम लागेर तातो भएकाले उनीहरूले ज्याकेट नलगाएका हुन् ।

प्रतिक्रिया दिनुहोस्