
डोटी । डोटीका ९ मध्ये ४ पालिकाको मतगणना स्थगित भएको छ । निर्वाचन प्रक्रियाको विषयलाई लिएर सर्वपक्षीय बैठकमै विवाद उठेपछि मतगणना स्थगित भएको हो ।
दिपायल सिलगढी नगरपालिका, शिखर नगरपालिका, केआई सिंह गाउँपालिका र सायल गाउँपालिकामा मतगणना स्थगित भएको छ । दिपायल सिलगढी नगरपालिकामा समयमै बैठकमा उपस्थित नभएको भन्दै अर्को पक्षले मतपेटिका खोलेर मतगणना कार्य सुरु गर्दा विवाद भएको हो ।
एमालेका प्रतिनिधिलाई पटक–पटक बैठकमा आउन आग्रह गरेपनि उपस्थित नहुँदा अन्य दलका प्रतिनिधिहरुको रोहबरमा मतगणना सुरु गरिएको मुख्य निर्वाचन अधिकृत बिदुर काफ्लेले बताए ।
सामान्य विषय रहेकाले सहमति प्रयास भइरहेको र केही बेरमा मतगणना सुरु हुने उनले जानकारी दिए । उता केआईसिंह गाउँपालिकाको वडा नं. १ स्थित मोहन्याल माविको मतदान केन्द्रमा मतदान गर्दा धाँधली भएको भन्दै समाजवादी र माओवादीका प्रतिनिधिले सर्वदलीय बैठक बहिष्कार गरेपछि मतगणना कार्य सुरु भएको छैन ।
मतदान सम्पन्न भइसकेपछि निर्वाचन अधिकृतको कार्यालयमा धाँधली भएको भन्दै निवेदन परेको थियो । त्यस्तै शिखर नगरपालिका र सायल गाउँपालिकामा पनि विवादका कारण सर्वदलीय बैठकमा सहमति नजुटेपछि मतगणना रोकिएको छ ।
बेगटान फुडसिल, बडीकेदार, जोरायल, आदर्श र पूर्वीचौकी गाउँपालिकामा भने मतगणना भइरहेको छ ।














