Logo
Logo
कला

‘मलाई भाइरल हुनु छैन’



फिल्म ‘कबड्डी कबड्डी–४’मा समावेश ‘केशरी’ बोलको गीत दर्शक तथा श्रोतमाझ चर्चित छ । उक्त गीतमा टिकटक बनाउनेको संख्या बढिरहेका छन् । यसै गीतमार्फत चर्चामा आएकी गायिका हुन्– रेश्मा पुन । रेश्माले करिब ७ वर्षे आफ्नो सांगीतिक करिअरमा तीन दर्जन हाराहारी गीत गाइन् । तर, उनका लागि ‘केशरी’ ‘टर्निङ प्वाइन्ट’ नै बन्यो । नेपालगञ्ज, कोहलपुरकी गायिका रेश्मा भन्छिन्, ‘गीत त धेरै गाएँ, तर मेरा लागि केशरी टर्निङ बन्यो ।’ उनी ‘केशरी’बाटै पाश्र्वगायिकाको रुपमा समेत चर्चामा आइन् । रेश्माका अन्य गीत पनि दर्शक-श्रोताले रुचाएका छन् । ‘केशरी’बाहेक फिल्म ‘लभ इन प्यासन’को ‘घाम जुन चाहिँदैन’, ‘रुद्रप्रिया’को आइटम नम्बर ‘बोट भयो टम्म, फल्यो लटरम्म होस् वा ‘म पहाडको मायाले’ रेश्माले गाएका गीत चर्चित छन् । गायिका रेश्मा पुनसँग जम्काभेट :

हिजोआज के गर्दै हुनुहुन्छ ?
आफ्नै युट्युब च्यानलका लागि प्रोजेक्टहरु गर्दैछु । भर्खर–भर्खरै युट्युब च्यालन सञ्चालनमा ल्याएकी हुँ । त्यसैले च्यानललाई उकास्न केही प्रोजेक्टहरु गर्दैछु । त्यसबाहेक गीतसंगीतको कुरा त छँदैछ ।

आफ्नै युट्युब च्यालन बनाउन आवश्यक थियो ?
आवश्यकता भन्दा पनि अहिले आफ्नै अफिसियल युट्युब च्यालन बनाउने ट्रेण्ड छ । अहिले आएर अधिकांश गायक÷गायिका वा कलाकारले अफिसियल युट्युब च्यानल बनाएका छन् । म पनि गायिका हुँ । मैले गाएका गीतहरु मेरो सम्पति हुन् । आफ्नो बौद्धिक सम्पतिलाई आफ्नै च्यानल बनाएर राखौँ भन्ने सोचले युट्युब च्यानल सञ्चालनमा ल्याएकी हुँ ।

अहिले नेपाली गीतसंगीत क्षेत्र कस्तो चल्दैछ ?
कोभिडको महामारीपछि राम्रो हुँदैछ । कोभिडअघि जस्तो अवस्था त आएको छैन । विस्तारै होला किनकि कोभिडपछि सामान्य अवस्थामा फर्केको धेरै भएको छैन । गीतसंगीतको कामहरु बढ्दै गएको छ ।

गीतसंगीत क्षेत्रमा लाग्नुभएको कति भयो ?
औपचारिक रुपमा गाउन थालेको सात वर्ष भयो । त्यसअघि फाट्टफुट्ट गाउँथेँ । सात वर्ष यताचाहिँ निरन्तर गायनमै छु ।

यो सात वर्षमा कति गीत गाउनुभयो ?
ठ्याक्कै गनेकी छैन । फिल्म, एल्बम र सिंगल ट्रयाक गरी तीन दर्जन पुग्यो होला । संख्या थपिँदैछ ।

यतिका संख्यामा गाउनुभयो । तपाइँलाई चिनाउने गीत कुन हो ?
पछिल्लो समयचाहिँ फिल्म ‘कबड्डी कबड्डी–४’को ‘केशरी’ हो । हुन त यो गीत गाउनुअघि पनि मेरा केही गीत दर्शक तथा श्रोताले रुचाएका थिए । ‘म पहाडको मायाले’ बोलको गीत श्रोताले रुचाएका थिए । तर, ‘केशरी’ मेरो सांगीतिक करिअरकै ‘टर्निङ प्वाइन्ट’ बन्यो ।

तपाइँ आइटम गीत बढी गाउनुहुन्छ होइन त ?
सबै प्रकारका गीत गाउँछु । गायिका भएको नाताले एउटै जनरामा मात्र गाउँछु भन्दिनँ । मैले लोकगीत पनि गाएकी छु ।

तपाइँलाई पाश्र्वगायिका भन्न मिल्छ ?
मिल्छ । पाँच/६ वटा फिल्ममा गाइसकेकी छु । पछिल्लो समय आधुनिक र फिल्मका गीत उत्तिकै गाउँदै आएकी छु । त्यसैले मलाई पाश्र्वगायिका भन्दा फरक नपर्ला ।

फिल्म र आधुनिक गीत गाउनुमा भिन्नता के छ ?
गाउने त गीत नै हो । तर, पब्लिसिटीका हिसाबले फिल्मका गीत गाउनु फरक हुन्छ । फिल्ममा बिग बजेट हुन्छ । सोहीअनुसार प्रमोशन गरिएको हुन्छ । तर, जति प्रमोशन गरिएपनि गायक÷गायिका ओझेलमा हुन्छ । गीत हिट भयो भने फिल्मलाई फाइदा हुने हो ।

पछिल्लो समय हिट हुन ‘भाइरल’ बन्ने प्रवृति बढेको छ । तपाइँलाई भाइरल हुने रहर छैन ?
भाइरललाई हुनु थियो भने यति लामो समय कुर्नै पर्दैनथ्यो । पहिल्यै हिट हुन्थेँ होला । मलाई सदावहार हुने गीतसंगीत मनपर्छ । र, मलाई भाइरल हुनु छैन ।

आइटम गीतहरु त लङलास्टिङ हुँदैन नि, होइन ?
–हो, फिल्मका आइटम गीत भनेको व्यापार बढाउनु हो । मैले आइटम गीत गाउने भनेको पनि व्यवसयिक नै हो । तर, मेरो आफ्ना गीतहरु लामो समय टिकिरहने खालकै छन् ।

तपाइँ मोडलिङ पनि गर्नुहुन्छ ?
गर्दिन । र, मोडलिङप्रति मेरो रुची पनि छैन । तर, कतिपय अवस्था यस्तो पनि आउने रहेछ कि गर्दिन भनेर पनि गर्नुपर्ने । त्यस्तै अवस्थाले मेरो आफ्नो गीतमा आफैँले मोडलिङ गरेकी छु ।

फिल्ममा अभिनयका लागि प्रस्ताव आयो भने गर्नुहुन्छ ?
म अभिनयका लागि जन्मेकी नै होइन जस्तो लाग्छ । अभिनयलाई न्याय दिन सक्छुजस्तो पनि लाग्दैन । त्यसैले अहिले नै यसबारे डिसिजन गर्न सक्दिनँ ।

घरजम गर्नेतिर पनि के सोच्दै हुनुहुन्छ ?
अहिलेसम्म केही सोचेकी छैन । यो समय मेरो करिअर बनाउने हो । त्यसैले करिअरभन्दा बाहिर ध्यान दिएकी छैन ।

प्रेम प्रस्तावहरु कतिको आउँछ ?
प्रेम प्रस्ताव यो उमेरमा नआएर कहिले आउँला र । म यसलाई नर्मल मान्छु । मेरो ध्यान करिअरतिर फोकस भएकाले पनि प्रेम प्रस्तावलाई नर्मल्ली लिएर इजेक्ट गर्दै आएकी छु ।

गीतसंगीताम नलागेको भए के बन्नुहुन्थ्यो ?
सायद फेसन डिजाइनर बन्थेँ कि । मलाई फेसन डिजाइनिङ पेसा पनि मनपर्छ किनकि यो क्रियटिम पेसा हो । गीतसंगीत पनि त्यस्तै हो ।

प्रतिक्रिया दिनुहोस्