
काठमाडौं । २५६६औं बुद्धजयन्तीको अवसर पारेर भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी सोमबार लुम्बिनी आउँदै छन्। प्रधानमन्त्री शेरबहादुर देउवाको निमन्त्रणामा एक दिने भ्रमणका लागि मोदी आउन लागेका हुन्।
मोदी कुसीनगरबाट हेलिकप्टरमार्फत लुम्बिनी ओर्लिने तालिका छ। प्रधानमन्त्री देउवाले मोदीको स्वागत गर्नेछन्। देउवा आइतबार नै लुम्बिनी पुगेका छन् । भ्रमण टोलीमा भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभल, परराष्ट्रसचिव विनयमोहन क्वात्रालगायत छन् । मोदीले लुम्बिनीमा करिब ६ घण्टा बिताउनेछन् ।
मोदीले पहिले मायादेवी मन्दिरमा पूजाआजा गर्नेछन्। त्यसपछि भारतले निर्माण गर्ने इन्डिया इन्टरनेसनल सेन्टर फर बुद्धिस्ट कल्चर एन्ड हेरिटेज शिलान्यास गर्नेछन्। ३ अर्ब लागतमा भारतले यो बिहार बनाउन लागेको हो। सोही क्रममा दुई देशबीच सांस्कृतिक, शैक्षिक एवं प्राविधिक विषयमा सहकार्यका लागि ५ वटा सम्झौतापत्रमा हस्ताक्षरसमेत हुनेछ।
लुम्बिनी बौद्ध विश्वविद्यालय र इन्डियन काउन्सिल फर कल्चरल रिलेसन (आईसीसीआर) बीच सम्झौता हुन लागेको हो। २ देशका प्रधानमन्त्रीको उपस्थितिमा सम्झौतापत्र आदानप्रदान हुनेछ।
लुम्बिनीमा प्रधानमन्त्री देउवा र समकक्षी मोदीबीच दुईपक्षीय वार्तासमेत हुनेछ।











