रौतहट । रौतहटको गौर नगरपालिकाको मतगणना सुस्त गतिमा चलिरहँदा माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीको अग्रता कायमै रहेको छ ।
शुक्रबार रातिदेखि नै मतगणना सुरु गरिएपनि आइतबार दिउँसोसम्म २ वटा वडाको मतगणना मात्र सकिएको छ । दुवै वडामा नेकपा एसले वडाध्यक्षसहित सबै सदस्य पदमा जित हासिल गरेको छ ।
एकीकृत समाजवादीका अध्यक्ष नेपालको गृहपालिका गौरको वडा नम्बर २ मा नेकपा एकीकृत समाजवादी प्यानल नै विजयी भएको छ ।

अध्यक्ष नेपालको वडामा एकीकृत समाजवादीका विनोदप्रसाद जयसवाल वडाध्यक्षमा निर्वाचित भएका हुन् । एकीकृत समाजवादी, लोकतान्त्रिक समाजवादी पार्टी नेपाल र नेपाली कांग्रेसका उम्मेदवारबीच कडाटक्कर रहेको भनिएको नेकपा एकीकृत समाजवादी उम्मेदवारले जित हासिल गरेको हो ।
वडामा खसेको कूल १६३४ मतमध्ये नेकपा एकीकृत समाजवादीका उम्मेदवार जयसवालले ५९३ मत पाएर विजयी भएका हुन् भने उनका प्रतिस्पर्धी नेपाली कांग्रेसले ४३८ मतमा सीमित हुनुपरेको छ ।
माधव नेपालको गृहवडामा नेकपा एकीकृत समाजवादीका मेयर उम्मेदवार शम्भु साह कानुले ७७८ मत प्राप्त गरेका छन् ।
मेयर उम्मेदवार साहले आफ्नो वडामा ११४७ मत प्राप्त गरेका थिए । गौर नगरपालिकामा वडा नम्बर १ र २ को मतगणना सकिएर मतपरिणाम सार्वजनिक हुँदा मेयरमा शम्भु साहले १९२५, लोकतान्त्रिक समाजवादी पार्टी नेपालका अजयकुमार गुप्ताले ६३२ तथा नेपाली कांग्रेसका मोहन यादवले ६०८ मत प्राप्त गरेका छन् ।
गौर नगरपालिका १ को वडाध्यक्षमा पनि सम्पूर्ण प्यानलसहित एकीकृत समाजवादी विजयी भएको छ ।














