पाल्पा । पाल्पाको तानसेन नगरपालिकाको नगरप्रमुखमा गठबन्धनको तर्फबाट उम्मेदवार बनेका नेपाली कांग्रेसका सन्तोषलाल श्रेष्ठ विजयी भएका छन् ।

नगरप्रमुखमा श्रेष्ठले ११ हजार २ सय ७३ मत ल्याएर विजयी भएका हुन् । उनले निकटतम प्रतिद्वन्द्वी नेपाल कम्युनिष्ट पार्टी एमाले उम्मेदवार धनेन्द्रराज घिमिरेलाई ८ सय ७९ मतान्तरले पराजित गरेका हुन् । नगर प्रमुखमा पराजित घिमिरेले १० हजार ३ सय ९४ मत ल्याएका छन् ।
उपप्रमुखमा भने गठबन्धनको तर्फबाट उम्मेदवार बनेका नेकपा माओवादी केन्द्रकी प्रतिक्षा सिंजाली विजयी भएका छन् । उनले ११ हजार १ सय ५१ मत ल्याएका छन् । एमालेका उम्मेदवार शशी श्रेष्ठलाई १० हजार ३ सय ७२ मत प्राप्त गरे ।
तानसेन नगरपालिकामा गठबन्धनकातर्फबाट नगरप्रमुखमा कांग्रेसले श्रेष्ठलाई र उपप्रमुखमा माओवादी केन्द्रले सिंजालीलाई उम्मेदवार बनाएको हो ।
१४ वडा रहेको नगरपालिकामा १० वडामा कांग्रेसले वडाध्यक्षसहित सबै सदस्य जितेको छ भने ४ वडामा एमालेले वडाध्यक्षसहित सबै सदस्य जितेको छ ।














