काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेणुकुमारी यादवले सरकारले दीर्घकालीन रूपमा विद्युतीय रेलमार्ग र सवारीसाधन सञ्चालनको लक्ष्य लिएको बताएका छन् ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले आज आयोजना गरेको कार्यशाला गोष्ठीमा मन्त्री यादवले साझा यातायातमार्फत ३७ विद्युतीय बस ल्याउन लागिएको बताए ।
तीमध्ये अहिले तीन बस परीक्षणमा रहेको र परीक्षण सकिएपछि बाँकी बस आइपुग्ने उनले बताए । सरकारले सुरु गरेको पूर्व–पश्चिम रेलमार्ग विद्युतीय हुने र आगामी दिनमा यातायातमा विद्युतीय माध्यमको प्रयोग बढाइने बताए ।
उनले भने, ‘पेट्रोलियम पदार्थ अत्यधिक आयातका कारण हुने व्यापार घाटा कम गर्न पनि विद्युतीय सवारीसाधन प्रोत्साहन गर्न खाँचो छ ।’














