Logo
Logo

इलाम समाज यूकेको भेला सम्पन्न


- दृष्टि न्युज/संवाददाता


काठमाडौं । इलाम समाज यूकेको १०औं वार्षिक भेला सामुएल कोडी स्पोर्ट्स स्पेसियलिस्ट कलेज फार्नबरोमा शनिबार सम्पन्न भएको छ ।

कांग्रेस केन्द्रीय सदस्य एवं प्रतिनिधिसभा सदस्य सुजाता परियारको प्रमुख आतिथ्यमा कार्यक्रम गरिएको हो । आफ्नो देश र ठाउँमा लगानी भित्र्याउन उनले आग्रह गरिन् । त्यसपछि मात्र पर्यटनको विकास हुने धारणा उनले व्यक्त गरिन् । ‘तपाईंहरूले व्यस्तताका बीच इलामका लागि सोचिरहनुभएको छ । यहाँबाट जिल्लामा विभिन्न सहयोग गरिरहनुभएको छ’, उनले भनिन्, ‘सहयोग अझै बढाउनुस् । जिल्लाको विकास तथा समृद्धिका लागि हातेमालो गरौं ।’

उनले एनआरएनलाई नागरिकता दिने विषयमा कुरा चलिरहेको उल्लेख गरिन् । यसमा आफ्नो तर्फबाट सक्दो पहल गर्ने उनको भनाइ थियो । उनले गोर्खा सैनिकको पेन्सन समस्याबारे कुरा उठाउने बताइन् । यूकेमा आफन्तलगायत स्कुलका साथीसम्म भेटेको सुनाउँदै उनले खुसी व्यक्त गरिन् ।

बीजीडब्लुएस गोर्खा रेडियोका प्रबन्धक मेजर सोनाम छिरिङ सेर्पाले आफ्नो पुख्र्यौली थलो इलाम भएको सुनाए । इलामका सबै कुरा राम्रो भएको उनले बताए । बाँकी दिनमा पनि राम्रो गर्नुपर्नेमा उनको जोड रह्यो । समाजका अध्यक्ष गोपाल गिरीले संस्थाका गतिविधिबारे जानकारी दिए । थप राम्रा काम गर्दै अघि बढ्ने प्रतिबद्धता उनले जनाए ।

कार्यक्रम केही ढिलो सुरु भएको थियो । समाजका पूर्वअध्यक्ष रमेश गुरुङप्रति श्रद्धाञ्जलीस्वरुप एक मिनेट मौनधारण गरिएको थियो । संस्थाकी महासचिव रुसु पराजुलीले सञ्चालन गरेको कार्यक्रममा सेफ्टीबारे उपाध्यक्ष कृष्ण देवानले प्रस्ट्याएका थिए । संस्थाकी उपाध्यक्ष प्रमिला लाबुङ राईले स्वागत मन्तव्य व्यक्त गरेकी थिइन् ।

कार्यक्रममा स्कुल, कलेजदेखि विश्वविद्यालय तहका विद्यार्थी र समाजमा योगदान गरेका केही व्यक्तिलाई सम्मान गरिएको थियो । भीसी कप विजेता इलाम एफसीलाई स्वागतसहित बधाई ज्ञापन गरिएको थियो । संस्थाका सचिव हर्क राईले राफेल ड्र, तम्बलाजस्ता खेल सञ्चालन गरेका थिए । चोक गुरुङले गीत गाएर मनोरञ्जन प्रदान गरे । कार्यक्रममा ‘इलाम हाम्रो पहिचान’ नामक वृत्तचित्र लोकार्पण गरिएको थियो । – यूकेबाट सुमित्रा राई (लाबुङ)को सहयोगमा

प्रतिक्रिया दिनुहोस्