Logo
Logo

बुटवलमा भत्कियो एमालेको गढ, खेलराज बने पपुलर नेता




बुटवल । बुटवल उपमहानगरपालिकाको मेयरमा नेपाली काँग्रेसका खेलराज पाण्डेय भारी मतान्तरले विजयी भएका छन् ।
राजनीतिमा आफ्नो निरन्तरको मेहनत, अथक प्रयास र गठबन्धनको साथले २५ बर्षमा नेकपा एमालेको विरासत तोड्दै नेपाली कांग्रेसका नगरसभापति समेत रहेका पाण्डे बुटवल उपमहानगरपालिकाको मेयरमा विजयी भएका हुन् ।

१९ वटा वडा रहेको बुटवल उपमहानगरपालिकामा ११ वटा वडासहित मेयरमा नेपाली कांग्रेसले जितेको हो । तर, पाण्डेले सबै वडामा सानदार मत ल्याएर छलाङ मार्दै पपुलर नेता बन्न पुगेका छन् ।

२०४९ सालको निर्वाचनमा कांग्रेसबाट स्वर्गीय सुर्यप्रसाद प्रधान बुटवलको मेयरमा निर्वाचित भएका थिए । त्यसयता बुटवलमा कांगेसले जित्न सकेको थिएन । अघिल्लो निर्वाचनमा पनि पाण्डेयलाई २ हजार ३ सय मत अन्तरले पराजित गर्दै बुटवलको मेयरमा एमालेका शिवराज सुवेदी निर्वाचित भएका थिए ।

पाँच दलीय गठबन्धनको तर्फबाट बुटवल उपमहानगरपालिकाको मेयर पदका उम्मेद्वार पाण्डेय ७ हजार ५३३ मतको अन्तर सहित सानदार बिजय हासिल गरेका छन् ।

बुटवलको मेयरमा निर्वाचित पाण्डेयले ३० हजार १३० मत प्राप्त गर्दा निकटतम प्रतिद्वन्दी एमाले उम्मेदवार भट्टराईले २२ हजार ५९७ मत प्राप्त गरेका छन् । त्यस्तै राप्रपाबाट मेयर पदका उम्मेदवार मृगेन्द्र शेरचनले ४ हजार २९७ मत प्राप्त गरे ।

उपमेयरमा भने गठबन्धनका उम्मेदवार चिनबहादुर गुरुङलाई पछि पार्दै एमाले जनमुक्ति पार्टीको गठवन्धनका उम्मेदवार सावित्रा अर्याल विजयी भएका छन् । उपमेयरमा निर्वाचित अर्यालले २४ हजार ९०४ मत प्राप्त गर्दा गठबन्धनको तर्फबाट एकीकृत समाजवादीका उम्मेदवार गुरुङले १६ हजार ९८० मत प्राप्त गरे । मतदाता शिक्षाको अभावमा गठबन्धनका तर्फ धेरै मत बदर भएको देखिन्छ । उपमेयरमा राप्रपाकी उम्मेदवार भगवती पाण्डेले ६ हजार ५२९ मत प्राप्त गरिन् ।

कसले कहाँ जित्यो

२०७४ को स्थानीय तह निर्वाचनमा १६ वटा वडा जितेको एमाले यो पटक जनमुक्ति पार्टीसँग गठबन्धन गर्दापनि ५ वटावडामा मात्र सिमित हुन पुग्यो । एमालेका उपाध्यक्ष बिष्णु पौडेल, नेता भोजप्रसाद श्रेष्ठ, नेत्र पन्थी ले मतदान गर्ने वडा न ८ मा काँग्रेसले जितेको छ ।

यतिमात्र हैन एमालेका मेयरका उम्मेद्वार बाबुराम भट्टराईको वडा नम्बर ६ र मेयर शिवराज सुवेदीको वडा नम्बर ७ मा काँग्रेस उम्मेदवारले जितेको छ । यसरी ठूला नेताका वडामै उम्मेदवार पराजित हुनु एमालेका लागि ठुलो झड्का मात्र हैन पार्टीभित्र चरम असन्तुष्टि छ भन्ने संकेत गर्छ । पार्टीका प्रभावसाली नेता बिष्णु पौडेललाई यो निर्वाचनको परिणामले नराम्रो झड्का दिएको छ ।

१९ वडामध्ये बुटवलमा ११ वटा वडा काँग्रेसले जितेको छ भने ५ वटा वडा एमालेले जितेको छ । बुटवलमा माओवादी केन्द्रले १, नेकपा एकीकृत समाजवादीले १ र एउटा वडा स्वतन्त्र उम्मेदवारले जितेको छ ।

वडा नं। ४, ५, ६, ७, ८, ९, १२, १३, १५, १६ र १७ काँग्रेसले जितेको छ । जसमा ४ को अध्यक्षमा नरिशवर शर्मा, ५ को अध्यक्षमा हरिप्रसाद श्रेष्ठ, ६ मा लोकनाथ न्यौपाने, ७ मा पदमराज गाहा, ८ मा यज्ञप्रसाद पंगेनी, ९ मा प्रदिपकुमार श्रेष्ठ, १२ मा डिल्लीप्रसाद शर्मा उपाध्याय, १३ मा नारायणप्रसाद पुन, १५ मा शिव राना, १६ मा कृष्णप्रसाद पौडेल र १७ मा ज्ञानबहादुर रेश्मी विजयी भएका छन् ।

त्यस्तै एमालेले १०, ११, १४, १८ र १९ वडा जितेको छ । एमालेले जितेको वडा नं। १० को अध्यक्षमा बलबहादुर पुन, ११ को अध्यक्षमा रामचन्द्र क्षेत्री, १४ मा दधिराम न्यौपाने, १८ मा गुरुप्रसाद पंगेनी र १९ को अध्यक्षमा चन्द्रसिंह थापा मगर निर्वाचित भएका छन् ।

वडा नं। १ मा स्वतन्त्र उम्मेदवार नरेन्द्र बस्नेत विजयी भएका छन् । उनले काँग्रेसबाट विद्रोह गरि स्वतन्त्र उम्मेदवारी दिएका हुन् । वडा नं। २ मा गठबन्धनबाट नेकपा एकीकृत समाजवादीका सुनिल शाक्य र वडा नं. ३ मा पनि गठबन्धनबाट माओवादी केन्द्रका विष्णु ढकाल विजयी भएका छन् । ढकाल रुख चिन्हबाट निर्वाचित भएका हुन् ।

जिल्लामा पनि एमाले कमजोर

१६ स्थानीय तह रहेको रूपन्देही जिल्लामा हिजो एमालेकै दवदबा थियो भने यो पटक एमाले एक नगरपालिका र दुईवटा गाउपालिकामा मात्र सिमित हुन पुगेको छ । बुटवल उपमहानगरपालिका, सैनामैना नगरपालिका, सिद्वार्थनगर नगरपालिका, लुम्बिनी सास्कृतिक नगरपालिका जस्तो महत्वपूर्ण नगरपालिका एमालेले गुमाएको छ ।

एमालेका केही नेता कार्यकर्ता र मतदाताको बुझाइमा एमालेका नेता तथा जनप्रतिनिधिमा अहँकार, दम्भ बढ्नु, गुटगत राजनीति हावी हुनुले नै एमाले कमजोर बनेको हो । कम्युनिष्टका नाममा एकलौटी लुट, दलाली प्रवृत्ति हावि, ब्यापारीकरण र निजीकरणमा मरिमेटेर संलग्नता, फरक विचार राख्नेलाई निषेध र प्रताडना, प्रदेश राजधानी सार्न एकथरि नेतृत्वको जालझेल, अर्कोथरि मौनता, राजनेताको चरम अहँकार र दम्भ, फरक विचार राख्नेमाथि हेपाहा प्रवृत्ति पनि मुल कारण हुन् ।

बेथिति, संस्थागत भ्रष्टाचार, विपक्षीलाई छुद्र ब्यवहार, बिकासमा भेदभाव र झुटा आश्वासन, घोषणापत्र अनुसार काम नहुनु, विपक्षीलाई कमजोर आकलन जस्ता कारणले पनि एमालेप्रति मतदाता आकर्षित हुन सकेनन् ।

हुन त भाषण भन्दापनि ब्यवहारमा काम खोजेको जनता माझ गठबन्धनले पनि स्पष्ट योजना बनाएर तत्काल अगाडि बढ्न नसके यो मतदाता थामिन नसक्ने भोटको ट्रेनले देखाएको छ ।

अत्यन्तै सादगी जीवन विताएर २०औँ बर्षदेखि डेरामा बसेर पैदल, ई–रिक्सा र अरूका मोटरसाईकल, सवारीसाधन चढेर वुटवलका सहर कुनाकाप्चा पुगेका ५५ बर्षे पाण्डेलाई बुटवलको समस्याबारे राम्रो ज्ञान पनि छ ।

बिजयी उत्सव मनाउने क्रममा उनले बुटवलको खानेपानी , सडक सुकुम्बासी समस्या र ज्योतिनगर पहिरो व्यवस्थापनलाई पहिलो प्राथमिकतामा राखेर काम गर्ने बताएका छन् । आगामी दिन उनको सफलता असफलता उनकै कार्यशैलीमा भर पर्नेछ ।

संघीय र प्रदेश निर्वाचन पनि नजिकिसकेकाले गठबन्धनले आसन्न चुनावमा लाभ लिन पनि चुनावी घोषणापत्र र स्थानीय प्रतिबद्वता पत्रअनुसार तत्काल देखिने र अनुभुति हुने गरि काम गर्न जरुरी देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्