Logo
Logo

पत्रकारलाई सञ्चारमन्त्रीको व्यंग्य, ‘तपाईहरु कुइरीमण्डलमा हुनुहुन्छ’


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, २४ असार ।
सूचना तथा सञ्चारमन्त्री गोकुल बाँस्कोटाले पत्रकारहरूले ‘कुइरीमण्डल’ मा बसेर पत्रकारिता गरिरहेको भन्दै व्यंग्य गरेका छन् । पछिल्लो मन्त्रिपरिषद्को बैठकलाई लिएर धेरै मिडियामा अनुमानका आधारमा समाचार आएपछि मन्त्री बाँस्कोटाले यस्तो बताएका हुन् ।
मंगलबार बिहान सिंहदरबारमा बसेको मन्त्रिपरिषद बैठकपछि प्रवक्ता बाँस्कोटाले नियमित बसेको बैठकलाई पनि आकस्मिक बसेको भन्ने प्रचार भएकोप्रति इङ्गित गर्दै त्यस्तो आरोप लगाएका हुन्।


‘तपाईंहरू कुइरीमण्डलमा हुनुहुन्छ, बैठक कुनै आकस्मिक होइन, मन्त्रिपरिषद बैठक जतिबेला पनि बस्न सक्छ,’ मन्त्री बाँस्कोटाले भने। बैठकले केही नियुक्ति, विधेयकमाथि छलफल गरेको उनले जानकारी दिए पनि थप बताउन चाहेनन्। मन्त्रिमण्डल पुर्नगठनबारे मन्त्रिपरिषद् बैठकमा छलफल भएको भनेर सोधेपछि त्यो प्रधानमन्त्रीको बिशेषाधिकारको विषय भएको र त्यसबारे मन्त्रिपरिषद्मा छलफल नहुने उनको भनाई थियो ।

हिजो सोमबारको मन्त्रिपरिषद बैठकको बीचैमा प्रधानमन्त्री केपी शर्मा ओली शीतलनिवासस्थित राष्ट्रपति भवन गएका थिए, जसका कारण बैठकमा एउटा विषयबाहेक अन्यमा छलफल हुन सकेको थिएन।
मन्त्रिपरिषद बैठकको अजेन्डामा छलफल हुन बाँकी रहेका विषयलाई टुङ्ग्याउनका लागि मंगलबार बिहान पुनः बैठक डाकिएको मन्त्री बाँस्कोटाले जानकारी दिए। बैठकले केही बिधेयक स्वीकृत गर्नेदेखि प्रशासनिक निर्णयहरु गरेको उनको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्