Logo

जापानमा पहिलो पाइला टेक्दा…


हिमालय शमशेर जबरा


सन् १९५४ मा जापानको राजधानी टोकियोमा पाइला टेक्दा जिउनै सिरिङ्ग भयो । दोस्रो विश्व युद्धमा अमेरिकाले हिरोसिमा, नागासाकीमा बी–२ बम्वार्ड गरेको थियो ।

सन् १९४५ अगस्ट ६ तारिखका दिन भएको बम वर्षाले ८० हजार जापानी नागरिकको ज्यान गएको थियो, लाखौंको संख्यामा युवा, वृद्धवृद्धा, बालबालिकाको बेहाल र हजारौं नागरिक अपांग भएको, लाखौं नागरिकको घर ध्वस्त भएको थियो । र सम्पूर्ण उद्योग कलकारखाना बमले ध्वस्त भएको कुरा समाचारमा सुनेको थिएँ ।

त्यस्तो ठाउँमा पाइला टेक्दा टोकियोको हालत पनि हृदयविदारक थियो । म त्यतिबेला अमेरिकाको यात्रामा थिए । युएनको फिलोसीप प्रोग्रामअन्तर्गत मैले जापान हुँदै न्यूयोर्क जाने बाटो तय गरेको थिए ।

त्यतिबेला टोकियोमा पनि सन्नाटा छाएको थियो । बम वर्षाको घाउले त्यहाँका नागरिकको आँखा रसाएका थिए । होटलहरु कम थिए । कोही पनि अंग्रेजी भाषा बोल्न जान्दैन थिए । बाहिरबाट गएका नागरिकलाई भाषाका कारण हिँडडुल गर्नसमेत गाह्रो थियो ।

सन् १९५४ देखि १९९० सम्म जापान भ्रमण गर्दा हरेक वर्ष जापान फेरिएको अनुभव पाए । जापानिजहरु इमान्दार, मेहेनती छन् । जे कुरा बनाए पनि ‘युनिक’ बनाउँछन् । त्यही मेहेनत र श्रमले जापानी ब्राण्डले विश्वबजार ओगटेको छ । देश बनाउन शासक इमान्दार र नागरिक परिश्रमी हुनुपर्छ भन्ने कुरा जापानबाट सिक्नुपर्छ ।

सन् १९६० मा दोस्रोपटक टोकियोमा पाइला टेक्दा अर्कै खालको आनन्दभूत भयो । दोस्रो विश्वयुद्धपछिको जापान भर्खरै बिउझँदै थियो । धमाधम पुनःनिर्माणको कामहरु भइरहेका थिए । बम वर्षाको १५ वर्षमै जापानिजहरुको जीवन परिवर्तन हुँदै थियो । बाटोमा देखिने जापानी नागरिकको अनुहारमा खुशी, ओठमा हाँसो देखिन्थ्यो । भविष्यप्रति जापानी नागरिक आशावादी देखिन्थे ।

त्यतिबेला म नेपाल राष्ट्र बैंकको गभर्नरको हैसियतले त्यहाँ पुगेको थिएँ । विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्रा कोषको साधारणसभामा भाग लिने क्रममा टोकियो हुँदै मैले वासिङटन डिसीको यात्रा गरेको थिए ।

त्यतिबेला नेपाल र जापान विश्व बैंक र आईएमएफको सदस्य राष्ट्र थिएन । नेपाललाई विश्व बैंक र आईएमएफको सदस्यता दिलाउन म नेपाल राष्ट्र बैंकको गभर्नरको नाताले टोकियो हुँदै वासिङटन डिसी पुगेको थिएँ ।

आईएमएफको साधारणसभामा भाग लिन आएका बैंक अफ जापानका गभर्नर यागामोतोसँग डिसीमा मेरो भेट भयो । उनी पनि विश्व बैंक र आईएमएफको सदस्यताका लागि सम्मेलनमा सहभागी भएका थिए ।

यागामोतोसँग मेरो घनिष्ट सम्बन्ध भयो । विश्वयुद्धको चपेटामा परेको जापानलाई आर्थिकरुपमा कसरी माथि उठाउने भन्ने चिन्ता गभर्नर यागामोतोले लिएका थिए । त्यही बेला नेपाल राष्ट्र बैंकले सञ्चित विदेशी मुद्रामध्ये केही रकम जापान बैंकमा राख्यो ।

जापानको बैंकमा विदेशी मुद्रा राख्ने नेपाल पहिलो देश थियो । यस कारणले पनि नेपाल–जापान सम्बन्ध बलियो बन्दै गयो । जापानबाट फर्किएपछि मैले नै जापानी मुद्रा येनलाई नेपालमा विनिमय गर्ने व्यवस्था मिलाए । यसबाट जापान सरकार उत्साही भयो । र, नेपाल जापानी पर्यटकहरुका लागि आकर्षित गन्तव्य बन्यो ।

नेपाल–जापान सम्बन्धको कुरा गर्ने हो भने, राणा प्रधानमन्त्री देवशम्शेर जबराको नाम सम्झनुपर्छ । देवशम्शेरले छोटो अवधिमा शासन गर्दा नेपालको सामाजिक र शिक्षा क्षेत्रमा मात्र उल्लेखनीय काम मात्र गरेनन्, जापान सम्राटसँग सम्बन्ध स्थापित गरेर नेपालका ८ जना सरकारी कर्मचारीलाई कृषि र हतियार बनाउने तालिमका लागि जापान पठाए । त्यतिबेला जापानमा विदेशीहरुले तालिममा भाग लिएको जापानको लागि पनि पहिलो अनुभव थियो ।

देवशम्शेर रणनीतिक रुपमा कति चतुर थिए भन्ने कुरा उनले जापानमा सामरिक हतियार बनाउन नेपालीलाई तालिम लिन पठाएबाट बुझिन्छ । जंगबहादुर बेलायतसँगको कुटनीतिक सम्बन्ध स्थापित गर्न सफल थिए भने, देवशम्शेर जापानसँग सम्बन्ध स्थापित गर्न माहिर थिए । देवशम्शेर ‘मेजी रेभ्युलेशन’बाट प्रभावित थिए । उनले नेपाललाई पनि जापानको जस्तो उदार प्रजातन्त्रको मोडलमा लैजानुपर्छ भन्ने सोच अगाडि सारेका थिए ।

सन् १९५४, ६० देखि निरन्तर सन् १९९० सम्म जापान भ्रमण गर्दा हरेक वर्ष जापान फेरिएको अनुभव मैले गरे । मेरो विचारमा जापानिजहरु इमान्दार, मेहनती छन् । जे कुरा बनाए पनि ‘युनिक’ बनाउँछन् । त्यही मेहनत र श्रमले जापानी ब्राण्डले विश्वबजार ओगटेको छ । देश बनाउन शासक इमान्दार र नागरिक परिश्रमी हुनुपर्छ भन्ने कुरा जापानबाट सिक्नुपर्छ ।

जापान भ्रमणका धेरै रमाइला अनुभव पनि छन् । एउटा जापानिजको घरमा पाहुना भएर जाँदा गरेको आतिथ्य सत्कारबाट म निकै प्रभावित भएँ । ट्रेन चढेर गएको थिएँ । ट्रेन स्टेशनमा झरेपछि लहरै साइकल राखिएको थियो । शुल्क नलाग्ने त्यही साइकल चढेर ती जापानिजको घरमा पुगेको, खाएको, सुतेको सम्झना अहिले पनि आउँछ ।

नेपाल राष्ट्र बैंकको पहिलो गभर्नर भएर जापान यात्रा गरेको मात्र होइन, नेपाल राष्ट्र बैंक र बैंक अफ जापानबीच बलियो सम्बन्ध स्थापित गरेको र जापानी मुद्रा येन पहिलोपटक नेपालमा प्रचलनमा ल्याएकोले पनि जापान सरकारले ‘अर्डर अफ जापान २०२१’ बाट मलाई सम्मान गरेको हुनुपर्छ ।

यो सम्मानले नेपाल–जापानबीच सरकार–सरकार मात्र होइन, नागरिक नागरिकबीचको सम्बन्धलाई समेत मजबुत बनाउने आशा राखेको छु । म भन्दा अगाडि पनि पूर्वमन्त्री रमेशनाथ पाण्डे, पूर्वसचिव नारायणप्रसाद अर्याल र केदारभक्त माथेमाले पाउनुभएको थियो ।

जापान नेपालको अत्यन्तै घनिष्ट मित्र राष्ट्र हो । नेपाल र नेपाली जनताको सुख, दुःखमा जापान सधैँ नेपाली जनताको मन मुटुमा बसेको छ । नेपालको पूर्वाधार विकासदेखि शिक्षा, स्वास्थ्य, स्वच्छ पिउने पानीको क्षेत्रमा समेत जापान सरकारले ठूलो सहयोग गरेको छ ।

नालको पूर्वाधार क्षेत्रमा पनि जापानको ठूलो आर्थिक सहयोग छ । मित्रता भन्ने कुरा व्यवहारले पुष्टि गर्ने कुरा हो, जुन कुरामा जापानले हरेक नेपालीको मन जितेको महसुस मैले गरेको छु ।

(नेपाल राष्ट्र बैंकका पहिलो गभर्नर हिमालय शमशेर जबरासँगको कुराकानीमा आधारित)

प्रतिक्रिया दिनुहोस्