
काठमाडौं । पहुँचका भरमा जहाजको टिकट वितरण हुँदा हुम्लाको हवाई यात्रा असहज बनेको छ । हवाइमार्ग भएर यात्रा गर्दा अत्यधिक खर्च हुने गरेको छ । टिकट पाउन सर्वसाधारणले सास्ती खेप्नुपरेको छ ।
हुम्लामा निजी क्षेत्रका तारा र समिट एयरलाइन्सले मात्र उडान भर्दै आएका छन् । हुम्ला हालसम्म सडक सञ्जालसँग जोडिन सकेको छैन । सुर्खेतबाट हुम्ला जान १० हजार र हुम्लाबाट सुर्खेत आउन ७ हजार भाडा तिर्नुपरेको यात्रु बताउँछन् । नेपाल वायुसेवा निगमको न्यून उडानका कारण यात्रु थप मारमा परेका छन् ।
थप उडानका लागि स्थानीयवासीले कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाही र पर्यटनमन्त्री छिरिङ डम्डुल लामालाई गुहार्दै आएका छन् । नेपालगञ्ज जानका लागि जहाजको टिकट लिन एक हप्तासम्म लगातार विमानस्थल धाउँदा पनि खाली हात फर्कनुपरेको खार्पुनाथ गाउँपालिका–१ प्युसका प्रेम शाहीले बताए । ‘तारा एयरले दैनिक एउटा मात्र उडान भर्छ, टिकट पाउनै मुस्किल छ,’ उनले भने ।
सिमकोटमा उडान भर्दै आएका सीता र समिटले हुम्लाको उडान संख्या कटौती गरेका छन् । सरकारी स्वामित्वको नेपाल वायुसेवा निगमले उडान भर्न छाडेको छ । सुर्खेतभन्दा नेपालगञ्जबाट हुम्लाका लागि हवाई यात्रा अझ महँगो छ । यस्तै समस्या डोल्पा जानका लागि छ । नेपालगञ्जबाट डोल्पा जाँदा ९ हजार र फर्कँदा ५ हजार तिर्नुपर्छ ।
पछिल्लो समय डोल्पा जान स्थलमार्गको प्रयोग बढ्दै गएको छ ।











