Logo
Logo

एक भोटका लागि मतदाताको हत्या गरियो : ओली



काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भोट पाउनका लागि मतदाताको हत्या गरिएको आरोप लगाएएका छन् ।

बिहिबार प्रतिनिधिसभाको बैठकमा बोल्दै अध्यक्ष ओलीले ‘ रुकुमा भोट पाउनका लागि मतदाताको हत्या गरियो । मतदाता अपहरण गर्ने, लगेर बनमा फाल्ने काम भयो ।’

यस्तै ओलीले हुम्लामा पनि एक मतदाताको हत्या गरिएको आरोप लगाए । ‘हुम्लामा मतदान भइसकेपछि मतगणनाको सन्दर्भमा राजनीतिक कार्यकर्ताहरु घरमा आएर बसेर खाना खाँदै गरेको, कार्यकर्ताको बाबु आँगनमा भएको बेला हमला गरियो र उनको हत्या गरियो’, अध्यक्ष ओलीले भने, ‘बचाउने प्रयासका बाब्जुद् बचाउन सकिएन ।’

ओलीले स्थानीय निर्वाचन भएको १४ दिनसम्म पनि परिणाम नआएको भन्दै असन्तुष्टि समेत जनाए । ‘निर्वाचन स्वच्छ र धाँधलीरहित हुन सकेन । सत्ता पक्षले बुथ कब्जा गरेका ठाउँमा प्रहरी निरीह भएर बसेको छ’, ओलीले भने, ‘बुथ कब्जा नगरभन्दा प्रतिपक्षीका कार्यकर्ता कुटिएका छन् । निर्वाचन भएको १४ दिन भयो । १४ दिनपछि किन परिणाम आइरहेको छैन ? किन आएको छैन, निर्वाचन स्वच्छ, धाँधलीरहित हुन सकेन ।’

ओलीले सत्तापक्षले बुथ कब्जा गरेको ठाउँमा प्रहरी मुकदर्शक बनेर बसेको समेत बताए । ‘उम्मेदवारको घरमा बम पड्काइयो। शान्तिपूर्ण भयो सबैतिर ? घर पुरानो भएर भत्किएको हो ?, ओलीले प्रश्न गरे । ‘बमलाई अपजस लगाएर भत्किएको हो ? कि बम आफैं आएर घर भत्कियो ?’

प्रतिक्रिया दिनुहोस्