Logo
Logo

ओलीको प्रश्न- भोट खसाएको भोलिपल्ट मूल्यवृद्धिको डण्डाले हान्दिने जनतालाई ?



काठमाडौं । सरकारले पेट्रोलियम पर्दाथको भारी मूल्यबृद्धि गरेको प्रति नेकपा एमालेका अध्यक्ष केपी शर्माले कडा आलोचना गरेका छन् । प्रतिनिधिसभाको बिहीबारको बैठकमा नीति तथा कार्यक्रममाथि बोल्दै ओलीले सरकारको आलोचना गरेका हुन् ।

सरकारले मूल्यवृद्धि गरेर जनताको ढाँड सेकाउने काम गरेका बताउँदै उनले चुनावसम्म पेट्रोलियम पदार्थमा विधिअनुसार मूल्य समायोजन नगरी चुनाव सकिएपछि हप्तामै दुई पटक मूल्यवृद्धि गरिएको भन्दै आलोचना गरे ।

अध्यक्ष ओलीले भने– ‘मूल्य समायोजनको नीतिको सट्टा यसै महिनाको पहिलो हप्ता दुईपल्ट १०–१० रुपैयाँका दरले मूल्यवृद्धि गरिन्छ । एक हप्तामा दुई पटक, १ गते र ९ गते । एक हप्ताभित्र २ पल्ट मूल्यवृद्धि गरिन्छ ।’

उनले व्यंग्यात्मक शैलीमा थपे– ‘१५–१५ दिनमा मूल्य समायोजन गर्ने नीति कहाँ गयो ? यो त जनतालाई धोका दिएको भयो । ३० गते भोट खसालुन्जेलसम्म चुप्प लागेर बस्ने, भोट खसाएको भोलिपल्ट मूल्यवृद्धिको डण्डाले हान्दिने जनतालाई ? त्यो पनि फेरि एक हप्ता नपुग्दै अर्को डण्डाले हान्दिने ?’

पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धिले हरेक क्षेत्रमा असर गर्ने ओलीको भनाइ थियो । ‘प्रतिलिटर पेट्रोलियम पदार्थमा हप्तामा २० रुपैयाँले बृद्धि भएपछि ढुवानीलगायत सम्पूर्ण वस्तुमा असर पर्ने भयो । हरेक वस्तुको मूल्य तद्अनुसार नै हुने भयो’ उनले भने । मूल्यवृद्धमा वर्तमान सरकारले नकरात्मक कीर्तिमान कायम गरेको ओलीको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्