Logo
Logo

फोर्ब्सको प्रभावशाली युवा सूचीमा ५ जना नेपाली



बायाँबाटः सुजित पाठक, सुमित दाहाल, ऐश्वर्या रानी सिंह, निरज काफ्ले र सन्तोष पाण्डे

काठमाडौं । अमेरिकी म्यागेजिन फोर्ब्सको प्रभावशाली युवा सूचीमा ५ नेपाली परेका छन् । एसियाका ३० वर्ष मुनिका ३० जना प्रभावशाली एसियाली युवाको सूचीमा नेपालका सुजित पाठक, सुमित दाहाल, ऐश्वर्या रानी सिंह, निरज काफ्ले र सन्तोष पाण्डे परेका परेका हुन् ।
फोब्र्सका अनुसार ४ हजारभन्दा बढी उम्मेदवारले आवेदन दिएका थिए । यसबाट ३ सय जना छनौट गरिएको थियो । त्यसबाट सामाजिक काममा सक्रिय, नेतृत्वदायी र समाजमा सकारात्मक भूमिका निर्वाह गरेका युवाहरू ‘३० अन्डर ३० एसिया’ मा चुनिएका हुन् ।
२९ वर्षीय सुजित पाठक इनग्रेल नेपालका सह–संस्थापक हुन् । उनी ‘कन्जुमर टेक्नोलोजी’ विधामा सूचीकृत भएका हुन् । कम्पनीले ‘वेद’ एपमार्फत विद्यालयको सञ्चालन, वित्त, सञ्चार र डेटा व्यवस्थापन गर्न मद्दत गरिरहेकाे छ ।

सुमित दाहालले जोन्स हप्किन्स विश्वविद्यालयबाट एस्ट्रोफिजिक्समा पिएचडी र न्यूयोर्क विश्वविद्यालय आवुधाबीबाट भौतिकशास्त्र र गणितमा स्नातक सकेका छन् । उनी नासा गोडार्ड स्पेस फ्लाइट सेन्टरका प्रयोगात्मक एस्ट्रोफिजिसिस्ट र पोस्टडक्टरल हुन् । २७ वर्षीय सुमितले ब्रह्माण्डको उत्पत्ति र विकासको अध्ययनका लागि टेलिस्कोपहरू निर्माण गरिरहेका छन् ।

ऐश्वर्या रानी सिंह पुतली नेपालकी संस्थापक बोर्ड अध्यक्ष हुन् । पुतली नेपाल युवाहरूलाई उनीहरूको समुदायमा प्रशिक्षक बन्न मद्दत गर्ने गैरनाफामूलक संस्था हो । यो संस्था महिनावारी स्वच्छता शिक्षा र प्रशिक्षणमा केन्द्रित संस्था छ ।

निरज काफ्ले र सन्तोष पाण्डे अफरिङ ह्यापिनेसका सह–संस्थापक हुन् । उनीहरू ‘रिटेल एन्ड इ–कमर्स’ विधामा सूचीकृत भएका हुन् । २८ वर्षीय निरज र २५ वर्षीय सन्तोषले सन् २०१७ मा अफरिङ ह्यापिनेस सञ्चालनमा ल्याएका हुन् ।

प्रतिक्रिया दिनुहोस्