Logo
Logo

चित्ताकर्षक सिर्जन- प्रकृति र मानिसको साथी ‘झ्यालिन्चा’


630
Shares

काठमाडौं । नेपाली भाषामा गाइने किरा र नेवारीमा ‘झ्यालिन्चा’ भनेर चिनिने प्रकृति र मानिसको साथीलाई अहिले बबरमहलस्थित नेपाल कला परिषद्मा देख्न सकिन्छ । परिषद्को भित्तामा एउटा कुनामा सजिएको छ ‘झ्यालिन्चा’ ।

झ्यालिन्चा हेर्न आएका दर्शकको चित्ताकर्षक सिर्जना पनि बन्न सकेको छ । सिर्जना कलेज अफ फाइन आर्टस्को जारी कला प्रदर्शनी हेर्न आउने कला पारखीहरु झुम्मिने ठाउँ पनि यही झ्यालिन्चा राखेको कुनो बनेको छ ।

उक्त किराको महत्व झल्काउन र संरक्षणमा चेतना अभिवृद्धि गर्ने उद्देश्यले कलाकार शारदामान श्रेष्ठले ‘सिर्जना–२०२२ः सामूहिक कला प्रदर्शनी’लाई नै केन्द्रित गरेर झ्लालिन्चा बनाएका हुन् ।

त्यसमाथि कवाड सामान प्रयोग गरेर लोपोन्मुख किराको आकृति उतार्न कति गाह्रो भयो होला ? यसको अनुमान पनि सहजै लाउन गाह्रो छ ।

एउटा मित्रु जीवको संरक्षण गर्नुपर्ने त छँदैछ । फ्याँकिएका र कवाड सामान जोडेर झ्यालिन्चाको रुप दिनु अर्को महत्वपूर्ण विषय हो । उनले झ्लालिन्चामार्फत कवाड सामान पनि उपयोगी हुनसक्छ, त्यसलाई कला भरेर आकर्षक र बिक्री योग्य बनाउन सकिन्छ भन्ने सन्देश दिएका छन् ।

उनले रेडबुलको ‘कभर’ जोडेर गाइने किराको पुच्छरसहितको पछिल्लो भाग तयार पारेका छन् । मोटरसाइकलको ट्याङ्कीलाई शरीर, हेल्मेटलाई टाउको त इन्जिनलाई आँखाको आकार दिएका छन् । तार बुनेर जालीदार पखेटा बनाएका छन् ।

नजिक गएर हेर्दा ति सामग्री जोडेको देखिए पनि अल्ली टाढाबाट उड्दै आएर भित्तामा बरिसहेको गाइने किरो कै भाव उत्पन्न गराइदिन्छ ।

धेरैलाई थाहा नहुनसक्छ गाइने किरो कस्तो प्रकारको जीव हो भनेर । सहरबजारमा देख्न पनि मुस्किल छ । कतिले देखेका पनि छैनन् । यो किरा संसारमा छ हजार ३३३ प्रजातिका रहेका र नेपालमा १८६ प्रजातिका पत्ता लागेका अध्ययनले देखाएको छ ।

यो मांसाहारी किरा हो । यसको लामो शरीर, पारदर्शी पँखेटा तथा ठूलाठूला आँखा हुन्छ । यसलाई खेतारी, पानी टिपुवा, टुकली, फिरफिरे, झ्यालिन्चा आदि नामले चिनिन्छ । अंग्रेजीमा ‘ड्रागन फ्लाई‘ भनेर चिनिने किरा पानी भएको आसपासको क्षेत्रमा बस्न रुचाउँछ ।

गाइने किरा मित्रु जीव हो । अध्ययनले त्यसले एक दिनमा ३० देखि १०० वटासम्म लामखुट्टे खान सक्छ । मानव जीवनमा सकारात्मक भूमिका खेल्ने यो किरा पारिस्थितिक प्रणालीको एक अङ्ग हो । पछिल्लो समयमा यो किरा लोपोन्मुख बन्दै गएको वन्यजन्तुविद्को भनाइ छ ।

यति महत्वपूर्ण जीवलाई उतारेर कलाकार श्रेष्ठले समाजलाई किरा संरक्षणमा ठूलो सन्देश दिनुभएको छ । अर्कातर्फ फ्याँकिएका चिज वस्तुको सही उपयोग गर्न समेत सिकाएको छ । जुनसुकै वस्तुहरु पनि काम लाग्छन् भन्ने सन्देश पनि हो यो सिर्जना ।

सिर्जना त्यस मुलुकको पहिचान हो इतिहास पनि हो । कलाको महत्व ठूलो भए पनि नेपालमा त्यती सथान पाउन सकिरहेको छैन । कलाले धेरै बोलिरहेको हुन्छ, छिट्टै र सत्य सन्देश पनि प्रवाह गरिरहेको हुन्छ ।

त्यही पहिचानलाई उजागर गर्न बबरमहलस्थित नेपाल आर्ट काउन्सिलमा जारी कला प्रदर्शनीमा उहाँसहित २४ कलाकारका विभिन्न विषयका ५१ सिर्जना राखिका छन् ।

यहाँ कलेजका संस्थापक प्रिन्सिपल, शशीविक्रम शाह, अग्रज कलाकार मदन चित्रकार, शरद रञ्जितलगायत पुराना कलाकारदेखि इतिहासकार राजेश गौतमसम्मका चित्र÷मूर्तिकला देख्न पाइन्छ ।

अर्को कुनामा कलाकार सुनिल रञ्जितले नेपाली संस्कृतिलाई मुख्य विषय बनाएर पाँच चित्र राख्नुभएको छ । रञ्जितले ‘फिगरेटिभ’ आर्टमार्फत कृषि प्रधान देश नेपालमा अब रोपाइँ सुरु हुन लाग्यो है भनेर शुभसङ्केत गर्नुभएको पाइन्छ । रोपाईँ संस्कृतिलाई उक्त आर्टले उजिल्याइदिएको छ ।

झिसमिसेमा बाजा बजाउँदै देउताको थानमा जाने नेवारी संस्कृति बचाइराख्न ‘व्याँचुली’मार्फत झकझक्याउनुभएको छ । सँगसँगै उनले अमूर्तकलालाई पनि प्रस्तुत गरेका छन् ।

उनी भन्छन– ‘नेपालका वरिष्ठ कलाकार कलेजमा छन्, वर्षको एक पटक प्रदर्शनी गरेर विद्यार्थीलाई हौसला प्रदान गर्न र समाजलाई चित्रमार्फत कला, संस्कृति, सम्पदाबारे जानकारी दिई संरक्षणमा योगदान दिन तथा सिर्जना कलेजको उपस्थिति जनाउन प्रदर्शनी गरिएको हो ।’

कलेजका सहप्राचार्य नविन्द्रमान राजभण्डारीले बैद्धिक पररम्परालाई अमूर्त कलामार्फत देखाउनुभएको छ । उहाँका सिर्जनाले अँध्यारोबाट उज्यालोतर्फ जाने गोरेटाहरु पहिल्याइदिने प्रयास रङको संयोजनमार्फत गरेकोे छ ।

‘अमूर्त कला बुझिँदैन भन्ने पनि छन्, तर यो सारतत्व हो, सरलीकृत हुन्छ, सिर्जनाहरु अन्तक्र्रियामा सहभागि हुन्छ’, राजभण्डारीले भने ।

कलाकार पूर्णरत्न बज्राचार्य कारणवस नभ्याएकाले बुधबार प्रदर्शनीस्थल मै चामलको पिठोले रेखीमार्फत बुद्धमण्डलको आकार दिँदै थिए । ‘यो वास्तविक परम्परागत नेवारी आर्ट हो जुन रङ जहाँ चाहिन्छ त्यही राख्नुपर्छ, अन्यथा हुने वित्तिकै मण्डल बिग्रिन्छ’, रङ मिसाइएको चामलको पिठोबाट आकार बुद्धको बनाउँदै उनले भने– ‘त्यसैले यसमा सचेत भएर गर्न सक्नुपर्छ ।’

अर्का कलाकार शरद रञ्जितले नृत्यलाई मुख्य विषय बनाएर रङको सुन्दर संयोजन गरी फरक दृष्यलाई चित्रहरु प्रस्तुत गरे ।

प्रदर्शनीमा उनका चार सिर्जना छन् । कलाकार रञ्जितले नृत्यका आकार विर्साएर त्यसभित्रका रङलाई मात्रै टपक्क टिपेका छन् । उनले कलालाई समाजसँग साक्षात्कार गराए ।

नृत्यलाई खुसीको पर्याय मानिन्छ । कलाकार रञ्जित त्यसबाट प्रभावित हुनुभयो र केही भावनाहरु रङमार्फत क्यान्भासमा उताले । ‘केही अमूर्त तर केही आकृति आउने खालका अर्धअमूर्त छन्’, उनी भन्छन– ‘नृत्यका भावलाई रङहरु बीच नै अन्तक्र्रिया गराएर रङ्गिन समाज चित्रण गर्ने प्रयास गरेको हुँ ।’

सन् २००१ मा केही कलाकारको प्रयासमा सिर्जना कलेज स्थापना भएको थियो । सयौँ कलाकार जन्माइसकेको यस कलेजपछि सामुदायिक भयो ।

नेपाली ललितकलाको विकासमा लागिपरेको यस कलेजले बेलाबेलामा कला कार्यशाला र प्रदर्शनी गर्दै आएको छ । विद्यार्थीलाई सहभागी गराएर विभिन्न कार्यक्रमसमेत गर्दै आएको छ ।

कलेजले अहिले आर्टमा पौभा, थान्का, अन्य समसामयिकलगायतका चित्रकला, ग्राफिक डिजाइन, फोटोग्राफी, सेरामिक्स आर्ट, मूर्तिकला, काष्ठकला सिकाउँदै आएको छ ।

यस्तै शास्त्रीय सङ्गीतमा गायनसहित बाँसुरी, तबला, सितार, नृत्यमा चर्या, भरत नाट्याम्, लोकनाचलगायत पढाउँछ । यहाँ हाल ३७० विद्यार्थी अध्ययनरत छन् ।

प्रदर्शनीमा एक कलाकारका पाँच वटासम्म चित्र समेटिएको छ । कलाकारले विभिन्न समसामयिकसहित, जनजीविका, अमूर्त, धार्मिक, सांस्कृतिक तथा सम्पदा र पुरातात्विक क्षेत्रका चित्रहरु सिर्जना गरेका छन् । यहाँ मूर्तिकलाहरु पनि छन् ।

कलेजमा आबद्ध अग्रज कलाकारको सिर्जना प्रदर्शनी गर्दा विद्यार्थी लगायत अन्य कलाकारलाई समेत प्रेरणा मिल्ने र समाजमा कलेजको पनि उपस्थिति देखिने भएकाले प्रदर्शनी आयोजना गर्दै आइएको संस्थापक सदस्य तथा प्राध्यापक सुनिल रञ्जितले जानकारी दिए ।

उनका अनुसार गत वर्ष कोरोनाका कारण प्रदर्शनी आयोजना गर्न नसकिए पनि यसपटक चौथो संस्करणको रुपमा आयोजना गरिएको हो । कलेजले सन् २०१८ देखि प्रदर्शनी गर्दै आएको छ । प्रदर्शनीअन्तर्गत आज विद्यार्थीले प्रत्यक्षरुपमा मुहार चित्र सिर्जना गर्ने कार्यक्रम छ ।

प्रतिक्रिया दिनुहोस्