Logo
Logo

तिलोत्तमाका मेयर भन्छन्– जनताको सेवक भएर काम गर्छु



बुटवल । तिलोत्तमा नगरपालिकाका नवनिर्वाचित प्रमुख रामकृष्ण खाँणले जनताको सेवक भएर काम गर्ने प्रतिबद्धता जनाएका छन् ।
आफ्ना एजेण्डालाई सदर गरेकामा उनले मतदातालाई धन्याद दिए । ‘अब मिलेर काम गर्छाैं । तिलोत्तमालाइ देशमै उत्कृष्ट, भ्रष्टचारमुक्त र सुशासनयुक्त बनाउने मेरो प्रतिबद्धता छ,’ उनले पत्रकारसँग भने, ‘त्यसमा सबैको साथ आवश्यक छ ।’ शासकका रुपमा नगरपालिकामा नबस्ने उनले बताए । भने, ‘म चौबिसै घण्टा नगरबासीकै सेवामा बिताउँछु । जनतासँग गरेका वाचा पुरागर्न लागिपर्छु ।’

खाँण २४ हजार ३ सय ९६ मत ल्याई निर्वाचित भएका हुन् । उनका प्रतिस्पर्धी एमालेका मोहन चापागाईंले २३ हजार ६ सय ३१ मत पाए । उपप्रमुखमा नेकपा एमालेका जगेश्वरीदेवी चौधरी २३ हजार ८६ मत प्राप्त गरी विजयी भइन् । निकटतम प्रतिद्वन्द्वी माओवादीका हेमन्त पाण्डले ११ हजार ५ सय ४६ मत पाए ।

यो संगै १७ वडा रहेको तिलोत्तमामा कांग्रेसले ९ र एमालेले ८ वडा जितेका छन् । यो गृहमन्त्री बालकृष्ण खाँण, एमाले नेता घनश्याम भुसालको गृह नगर हो । एमाले उपाध्यक्ष बिष्णु पौडेलको निर्वाचन क्षेत्र पनि पर्दछ । २०७४ सालमा एमालेले प्रमुख र उपप्रमुख जितेको थियो ।
को हुन्, नगरप्रमुख खाँण ?
२०२२ माघ १७ गते मणिग्राममा जन्मिएका रामकृष्ण खांण काँग्रेस रुपन्देहीका सभापती हुन् । उनको पुख्र्यौली थलो स्याङ्जा हो ।

साझा नेताका रुपमा सहयोगी भुमिका खेल्ने भएकाले उनी रुपन्देहीको राजनीतिक वृत्तमा लोकप्रिय छन् । गृहमन्त्रीका सहोदर भाइ हुन् । २०४७ सालमा बुटवल बहुमुखी क्याम्पसको स्ववीयू कोषाध्यक्ष भएका थिए । २०५४ सालमा काँग्रेस रुपन्देहीको जिल्ला सदस्य भए ।

२०६६ सालमा जिल्ला सचिव भए । यसअघिको स्थानीय निर्वाचनमा पनि उनी तिलोत्तमाको मेयरमा उठेर झिनो मतले पराजित भएका थिए ।

प्रतिक्रिया दिनुहोस्