काठमाडौं । सरकारले नेपाल आयल निगमलाई निजीकरण गर्न लागेको भन्ने प्रचार गलत रहेको र शतप्रतिशत झुटो रहेको उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले बताएका छन् ।
शुक्रबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले पेट्रोलियम पदार्थको आयात तथा बिक्री वितरण गर्न निजी क्षेत्रलाई दिन लागिएको भन्ने प्रचार गलत रहेको र गलत हल्लाका पछाडि नलाग्न आग्रह गरे । निगमलाई बढी व्यवस्थित बनाउन लागिएको समेत उनले स्पष्ट पारे ।

बिहीबार प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले निगमलाई निजि क्षेत्र दिन लागेको भन्दै सरकारको आलोचना गरेका थिए । ओलीको उक्त अभिव्यक्तिमा सरकारको ध्यानाकर्षण भएको मन्त्री बडूले बताए । निगमलाई वित्तीय, व्यस्थापकीय सुधार गरेर आयातलाई सहज बनाउने उद्देश्यले सरकारले प्रक्रिया अगाडि बढाएको उनको भनाइ छ ।
उनले प्रमुख प्रतिपक्षी दलका नेताले आधारहीन वक्तव्य दिएको भन्दै मन्त्री बडूले सत्ता गुमाउनुपर्दाको पीडा पूर्वप्रधानमन्त्री ओलीको तर्फबाट बिहीबार संसद्मा प्रस्तुत भएको उल्लेख गरेका थिए ।
मन्त्री बडूले निगम पछिल्लो समय रु ४७ अर्ब घाटामा भएको र भारतीय आयल कर्पोरेशनलाई रु २२ अर्ब ४० करोड तिर्न बाँकी रहेको जानकारी दिए ।