
२०७४ सालको निर्वाचनमा एमाले एक्लैले ७ उपमहानगर जितेको थियो । हेटौंडा, इटहरी, धरान, तुलसीपुर, घोराही, बुटवल, जीतपुर सिमरामा मेयर उपमेयर दुवै एमालेका उम्मेदवार निर्वाचित भएका थिए ।
कांग्रेसले २ (कलैया र धनगढी) को मात्र मेयर उपमेयर तथा नेपालगन्जको उपमेयर जितेको थियो । जनकपुरको मेयर उपमेयर राजपा तथा नेपालगन्जको मेयर राप्रपाले जितेको थियो । यसपटक भने उपमहानगरमा एमाले नराम्ररी खस्किएको छ । एमालेले ३ वटामा मात्रै मेयर जितेको छ ।
घोराही, तुलसीपुर र कलैयाको मेयर जितेको एमालेले उपमेयर भने ७ वटै उपमहानगरमा जितेको हो । एमालेले धनगढी, घोराही, तुलसीपुर, बुटवल, जितपुर सिमरा, कलैया र इटहरीको उपमेयर जितेको छ । कांग्रेसले यसपटक पनि उपमहानगरमा राम्रो नतिजा निकाल्न सकेन । सत्तारुढ दलबीच गठबन्धन भएको कारण कांग्रेसले पहिलेभन्दा धेरै उपमहानगरमा जित्ने अपेक्षा गरेको थियो ।
गठबन्धनमा भागबन्दा गर्दा ७ उपहानगर पाएको कांग्रेसले ३ वटामा मात्रै जित निकालेको छ । कांग्रेसका भागमा परेका धरान र धनगढी स्वतन्त्र उम्मेदवारले जितेका छन् । कलैया र तुलसीपुर एमालेले खोसेको छ । घोराही र जितपुर सिमराको उपमेयरमा कांग्रेस उम्मेदवार पािरजत भएका छन् ।
यसैगरी अघिल्लो पटक मेयर उपमेयरमा शून्य रहेको माओवादीले अहिले १ मेयर र १ उपमेयर जितेको छ । जितपुर सिमराको मेयर र धरानको उपमेयर जितेको हो । यस्तै अघिल्लो निर्वाचनमा १ मेयर जितेको राप्रपाले यसपटक जित्न सकेन । २०७४ मा राप्रपाले नेपालगन्जको मेयर, राजपाले जनकपुरको मेयर र उपमेयर जितेका थिए ।
अहिले यो पार्टी अस्तित्वमा छैन । यही पार्टी फुटेर बनेको जनता समाजवादी पार्टीले नेपालगन्जको उपमेयर जितेको छ ।











