Logo

नेपाली राजनीतिमा ‘अनिल कपुर’को खोजी



हामीलाई हिन्दी र मद्रासी चलचित्र हेर्ने बानी परेको छ । त्यसैको प्रभावले हरेक क्षेत्रमा चमत्कारी प्रभाव खोज्न थालेका छौँ । भारतीय चलचित्र ‘नायक’मा जस्तै ।

राजनीतिमा उथलपुथल हुँदा बारम्बार चर्चामा आउने गर्छ भारतीय चलचित्र ‘नायक’ । यसको एउटामात्रै कारण हो– चलचित्रमा देखाइएको एक राजनीतिक चमत्कार ।

शिवाजी रावको भूमिकामा देखिएका अनिल कपुर यस चलचित्रका मुख्य पात्र हुन् । क्यामेरा प्रर्सन र टेलिभिजन प्रस्तोता हुँदै शिवाजी एकदिनका लागि मुख्यमन्त्री बन्छन् ।

शिवाजीले पहिलो अन्तर्वार्ता मुख्यमन्त्री बलराज चौहान (अमरिश पुरी)को लिने अवसर पाउँछन् । अन्तर्वार्तामा शिवाजीले बलराजलाई खरो प्रश्न गर्छन् । प्रश्नको सामना गर्न नसकेपछि बलराजले उनलाई एकदिनका लागि मुख्यमन्त्री बन्न चुनौती दिन्छन् ।

राजनीति चलचित्र जस्तो स्वयरकल्प होइन । ‘नायक’ फिल्ममा अनिल कपुरले रातारात चमत्कार गरे झैं राजनीतिमा सम्भव हुँदैन । विकल्पमा रोजिएकाबाट पनि धोका भए जनता चरम निराशामा फस्ने खतरा छ ।

एकदिनका लागि मुख्यमन्त्री बनेका शिवाजीले चमत्कार देखाइदिन्छन् । अक्षम र भ्रष्ट सरकारी कर्मचारीलाई ठाउँको ठाउँ निलम्बन गरिदिन्छन् । ठगी गर्ने व्यापारको लाइसेन्स खारेज गरिदिन्छन् र अन्यायमा परेकाहरूलाई न्याय दिलाउँछन् ।

दिनको अन्तिम काम उसले भ्रष्टाचारको मूलकारण देखाउँदै आफूलाई एकदिन मुख्यमन्त्री बनेर काम गर्न चुनौती दिने मुख्यमन्त्रीलाई नै पक्राउ गर्छन् । त्यसपछि उनी नायक बन्छन् ।

एकदिनका लागि मुख्यमन्त्री बनेका शिवाजी पुरानै काममा फर्कन्छन् । तर, जनताले उनलाई प्रस्तोताका रुपमा रुचाउँदैनन्, मुख्यमन्त्रीको रुपमा खोज्न थाल्छन् ।

सबैतिरबाट मुख्यमन्त्री बन्नुपर्छ भन्ने आवाज उठ्छ । उनी नचाहँदा नचाहँदै राजनीतिमा होमिन बाध्य हुन्छन् । केही समयपछि निर्वाचन हुन्छ । बलराजलाई पराजित गर्दै शिवाजी मुख्यमन्त्री बन्छन् ।

भद्रगोल राजनीतिमा मुलुकले खोजिरहेका नायकको रुपमा शिवाजीलाई उक्त चलचित्रमा देखाइएको छ । त्यसले प्रभावित पारेको हुनसक्छ । धेरैलाई लागेको हुनसक्छ- ‘नेता भनेको शिवाजीजस्तो हुनुपर्छ ।’

नेपाली राजनीतिमा पनि अहिले नायक चलचित्रकै शिवाजीको खोजी भइरहेको महशुस हुन्छ । देशमा राजनीतिक उथलपुथल हुँदा शिवाजीको खोजी हुनु स्वभाविकै पनि हो ।

शिवाजीकै खोजीमा देशमा बालेन साह र हर्कराज साम्पाङको उदय भएको छ । शिवाजीकै खोजीमा अभियान्त हर्क राई धरान उपमहानगरको मेयर बनिसके । ¥यापर तथा इन्जिनियर बालेन जनसंख्याको आधारमा सबैभन्दा ठूलो महानगर काठमाडौंको मेयर बने ।

हर्क राई धराने जनताका लागि नयाँ होइनन् । अभियन्ता हर्कलाई प्रायः सबै धरानेले चिनेका थिए । नचिने पनि उनका नाम भने पक्कै सुनेका थिए । तर, निर्वाचनको एक महिना अघिसम्म पनि बालेनको नाम खासै सुनिएको थिएन । उनी र्‍यापर भएपनि कहलिएका थिएनन् ।

बालेनले उधुम मच्चाउने भाषण पनि गरेनन् । ओलीले जस्तो उखान टुक्का झिकेर जनतालाई हँसाएनन् । देशलाई सिंगापुर बनाउने सपना पनि बाँडेनन् ।

आखिर एकाएक शिवाजीजस्तै बालेनको उदय कसरी भयो ? उनलाई काठमाडौंका जनताले किन पत्याए ? न, उनले सडकमा ढुंगा हानेका छन् ! न उनी वषौँ जेल नै बसेका छन् । न मुर्दावाद र जिन्दावाद भन्दै सडकमा कुर्लिएका छन् ।

यहाँको सत्ता यस्तो छ- जहाँ राम छिरेपनि रावण भएर निस्कन्छन् । उदाहरणका लागि धेरै टाढा पुग्न पर्दैन । केही वर्षअघि फर्केर एमाले अध्यक्ष ओलीका कदमलाई सम्झे हुन्छ ।

२०७२ सालको भुकम्पपछि भारतले अघोषित नाकाबन्दी गर्‍याे । त्यहीँ मौकामा ओली ‘राष्ट्रवादी’ नेता बने । भगवान नै बने । त्यसबेला ओलीविरुद्ध सामाजिक सञ्जालमा लेख्यो भने उनका सर्मथक ढुंगा हान्न घरमै आइपुग्थे !

दुई वर्षपछि अर्थात् ०७४ फागुन ३ गते ओली दोस्रो पटक प्रधानमन्त्री बने । दोस्रो पटक प्रधानमन्त्री बनेपछि ओली पनि शिवाजी बन्ने धेरैको आशा थियो । शिवाजीले जस्तै काम गर्छन् भन्ने ठाने ! विश्वास गरे ।

सन् २०२० मा ओलीले ‘दूरद्रष्टा र राष्ट्रनिर्माता’को अवार्ड पनि पाए । एसियन एसोसिएसन अफ म्यानेजमेन्ट अर्गनाइजेसन्स् (आमा)ले ओलीलाई ‘भिजिनरी लिडर एण्ड नेशन बिल्डर अवार्ड’ दियो । तर, त्यसको केही समयमै ओली रावण भएर निस्किए ! बहुमतको प्रधानमन्त्रीले संसद विघटन गरिदिए । असंवैधानिक कदम चाले ।

अहिलेका शीर्ष नेताहरू ओली, देउवा र प्रचण्डलगायतले पञ्चायत र राजतन्त्र ढाले । परिवर्तनकै लागि जवानी त्यागे । तर, उनीहरूले आज त्यही शैलीमा जीवन बाँचिरहेका छन् । त्यसैले बालेन र हर्कहरूको उदय हुन थालेको हो ।

रेष्टुरेन्टको मेनु सबैभन्दा बढी पढिने साहित्य भनेजस्तै सबैभन्दा बढी मेनु भएको रेष्टुरेन्ट राजनीतिक दलभन्दा फरक पर्दैन ! सबै दलले आ–आफ्नो मेनु बनाएका हुन्छन् । ती मेनु निर्वाचनको मुखमा बाँडिन्छ ।

नेपालीमा कहावत नै बन्यो– ‘जति मेनु हेरे पनि अन्त्यमा खाने उही मम, चाउमिन हो ।’ तर, अहिले जनताले मम, चाउमिन अर्डर गरेनन् । मम, चाउमिन छान्ने आशामा बसेकाहरू हेरेका हे¥र्यै भए ।

बालेन र हर्कलाई एकै ठाउँमा राखेर हेर्न मिल्दैन । तर, एक्लै निर्वाचन जित्ने सन्दर्भमा उनीहरुलाई एउटै दृष्टिमा हेर्न सकिन्छ । काठमाडौंमा बालेन, धरानमा हर्क र देशका विभिन्न ठाउँमा स्वतन्त्र उम्मेदवारप्रति देखिएकोे आकर्षण बडो अर्थपूर्ण छ  ।

यो राजनीतिको गलत प्रवृत्तिमाथि ठूलो प्रहार हो । जनताको करमा मोजमस्ती गरेर निर्वाचनको बेला देखापर्ने नेतालाई ‘लौरो’ले घोचेर तर्साएको छ ।

बालेन र हर्कले पाएको मतलाई दलप्रतिको वितृष्णाका रूपमा मात्र बुझ्नु अनुचित छ ।

स्वतन्त्रको आगमन राजनीतिमा प्रदूषण अचाक्ली भइसक्यो भन्ने सन्देश हो । ‘हामी विवेकशील भइसक्यौँ’ भनेर जनताले दिएको एक लिखित पत्र हो । राजनीतिक दलको मनोमानीको खबरदारी हो । दलप्रति जनताले पटकपटक गरेको विश्वास र अपेक्षा पूरा नभएको आक्रोशपूर्ण अभिव्यक्ति हो ।

बालेन र हर्कको उदयले देशको राजनीतिक मूलधारलाई नियन्त्रणमा राखिरहेको दाबी गर्नेहरूलाई पक्कै पनि सोच्न बाध्य बनाएको हुनुपर्छ । बालेन र हर्कले कामै गर्छन् भनेर मात्रै भोट दिएको नहुन पनि सक्छ । राजनीतिक दललाई सबक सिकाउन उनीहरूलाई भोट दिएको हुनसक्छ ।

स्वतन्त्र उम्मेदवारको जबरजस्त उपस्थितिले राजनीतिक दहरूले आफ्नो चरित्र गुमाउँदै गएको, सैद्धान्तिक, वैचारिक रुपबाट स्खलित भएको प्रस्ट हुन्छ ।

कांग्रेस, एमाले र माओवादीलगायत सबै एउटै हुन् भन्नेमा जनताको बुझाइ छ । सबै दलले खाने नै हो, लुट्ने नै हो भन्ने छाप बसेको छ । त्यसैले पार्टीको विकल्पमा ‘स्वतन्त्र’ छान्न थालेका हुन् ।

दलीय संरचना भएको देशमा स्वतन्त्रबाट निर्वाचितलाई काम गर्न पक्कै सजिलो छैन । किनकि, निर्वाचित जम्मा एक जना हुन्छन् । दलबाट निर्वाचित जनप्रतिनिधिले नगर परिषद्, प्रशासनिक लगायतका ठाउँमा उसका योजना असफल बनाइदिन सक्छन् ।

दलबाट पालित व्यक्तिका कारण स्वतन्त्रलाई असफल बनाउने प्रयत्न हुन सक्छ । यहाँ पुरै दलीय सिन्डिकेट छ । हरेक ठाउँमा उनीहरूकै बर्चस्व छ । त्यसैले स्वतन्त्रलाई काम गर्न भने पक्कै सहज छैन ।

तर, असम्भव भन्ने केही हुँदैन । दलका जनप्रतिनिधिले भन्दा राम्रा काम पनि गर्न सक्छन् । नेता–कार्यकर्तालाई कहाँ सेटल गर्ने भन्ने तनाव हुँदैन । यो रिसाए, त्यो रिसाए अर्को पटक टिकट पाउँदिन भन्ने हुँदैन ।

यदी, स्वतन्त्रले दलका जनप्रतिनिधिलाई समेटेर लान सके सोचेभन्दा राम्रा काम गर्न सक्छन् किनकि उनीहरुलाई जनताको साथ सधैं रहन्छ ।

अन्त्यमा, राजनीति चलचित्र जस्तो ‘स्वयरकल्प’ होइन । हिन्दी फिल्म ‘नयक’मा अनिल कपुरले जसरी रातारात चमत्कार गरे, त्यसरी राजनीतिमा चमत्कार सम्भव हुँदैन । विकल्पको रुपमा रोजिएकाहरु पनि उस्तै भए जनता चरम निराशामा फस्ने खतरा छ ।

प्रतिक्रिया दिनुहोस्