Logo
Logo

कहाँ-कहाँ भत्कियो एमाले गढ ?



काठमाडौं । सात महिनाअघि गठन भएको नेकपा (एकीकृत समाजवादी)ले पोखरा महानगरपालिकास २० स्थानीय तहमा प्रमुख/अध्यक्ष जितेको छ । १ उपमहानगरपालिका, १० नगरपालिका र ७ गाउँपालिकाको प्रमुखमा एकीकृत समाजवादीले जित हासिल गरेको छ ।

एकीकृत समाजवादीले कास्कीको पोखरा महानगरपालिका, मकवानपुरको हेटौंडा उपमहानगरपालिका, इलामको सूर्योदय नगरपालिका, सप्तरीको सम्भुनाथ नगरपालिका, रौतहटको गौर नगरपालिका र राजदेवी नगरपालिका, धादिङको धुनिबेसी नगरपालिका, काभ्रेको मण्डनदेउपुर नगरपालिका, चितवनको राप्ति नगरपालिका र कैलालीको घोडाघोडी नगरपालिकामा मेयर पद जितेको छ । मतगणना अन्तिम चरणमा पुगेको पोखरा महानगरपालिकामा एकीकृत समाजवादीले मतान्तर फराकिलो बनाउँदै जित सुनिश्चित गरेको छ ।

२५ वर्षदेखिको एमालेको किल्ला ढाल्यो

पोखरामा २५ वर्षदेखिको एमालेको राम्राज्य ढलेको छ । एमाले विरासत भत्काउँदै नेकपा एसका उम्मेदवार धनराज आचार्य मेयरमा निर्वाचित भएका छन् । उनी ६ हजार ४५ मतान्तरसहित मेयरमा निर्वाचित भएका हुन् । आचार्यले ५८८९३ मत पाउँदा थापाले ५२८४८ मत पाए ।

थापा ०५४ मा एमालेकै तर्फबाट मेयरमा निर्वाचित भएका थिए । ०७४ मा एमालेकै मानबहादुर जीसी महानगरको मेयरमा निर्वाचित भएका थिए ।

०३९मा अनेरास्ववियूबाट राजनीतिमा प्रवेश गरेका आचार्य पृथ्वीनारायण क्याम्पसको स्ववियू सभापति, अखिलको जिल्ला अध्यक्ष, पश्चिमाञ्चल अध्यक्ष र केन्द्रीय सचिवालय सदस्य समेत भए । उनी माले, एमाले हुँदै यहाँसम्म आएका हुन। मालेबाट पार्टी राजनीति सुरु गरेका उनी एमालेको जनवर्गीय संगठन नेपाल राष्ट्रिय वाणिज्य संघको केन्द्रीय अध्यक्ष बने ।

माधबकुमार नेपालले पार्टी विभाजन गर्दा ०७८ मा नेपालसँगै उभिए । उनी एकीकृत समाजवादीको केन्द्रीय सदस्य र कास्की अध्यक्ष भए। उनी जलविद्युत क्षेत्रका लगानीकर्ता पनि हुन् ।

उपमहानगरकी एक्ली महिला मेयर बनिन् मीना
बागमती प्रदेशको राजधानी हेटौँडामा नेकपा (एमाले)को गढ नेकपा (एकीकृत समाजवादी) की मीनाकुमारी लामाले भत्काइदिएका छन् । मीनाकुमारी उपमहानगरको मेयर हाँक्ने पहिलो महिला भएका छन् । एमालेले हेटौंडामा संविधान सभाका सदस्य अनन्तप्रसाद पौडेललाई मेयरको उम्मेदवार बनाएको थियो । लामा २३ हजार ७५ मत ल्याएर विजयी हुँदा पौडेल २० हजार ९ सय ८ मतमा खुम्चिए ।

राप्रपा नेपाल र परिवार दलसँग चुनावी सहकार्य गरेको एमालेका उम्मेदवारलाई लामाले एकीकृत समाजवादीको जग र पाँचदलीय गठबन्धनको साथमा मीनाले सहजै पाखा लगाए । निर्वाचनअघि एमाले नेताहरूले लामालाई प्रतिस्पर्धामै नआउने भन्दै गिज्याएका थिए । दृढ विश्वासका साथ निर्वाचन मैदानमा होमिएका मीनाले एमालेलाई चित खुवाइदिएका छन् ।

यसअघि २०७४ को निर्वाचनमा कांग्रेस र माओवादी केन्द्रका उम्मेदवारलाई पराजित गर्दै एमाले उम्मेदवार हरिबहादुर महत निर्वाचित भएका थिए । मीना अघिल्लो निर्वाचनमा गठबन्धनलाई हराउँदै हेटौँडाको उपमेयर निर्वाचित भएका थिए ।

एमालेका हरिबहादुर महत २३ हजार १ सय २४ मतसहित निर्वाचित हुँदा कांग्रेस–माओवादी गठबन्धनबाट कांग्रेसका उम्मेदवार आनन्दराम पराजुलीले २३ हजार ५०९ मत ल्याएका थिए । उपमेयरमा मीनाले २३ हजार ४ सय ३७ मत ल्याएर निर्वाचित हुँदा कांग्रेस–माओवादी गठबन्धनका बलराम लामाले १७ हजार ११ मत ल्याएका थिए ।

को हुन् मीना ?
२०४६ सालदेखि राजनीतिमा लागेकी मीना २०५२ सालमा अनेरास्ववियुको मकवानपुर जिल्ला कोषाध्यक्ष बनेका थिए । २०७१ मा एमालेको मकवानपुर जिल्ला उपसचिव बने । वि.सं. ०३३ पुस २७ गते हेटौँडामा जन्मिएका मीना बालबालिकाको क्षेत्रमा काम गर्दै गर्दा २०७४ को स्थानीय निर्वाचनमा एमालेबाट उपमहानगरको उपमेयर बने ।

एमाले र माओवादीबीच एकता भएर बनेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा पनि उनी जिल्ला उपसचिव नै थिए । सर्वोच्च अदालतको आदेशमा नेकपा भंग भएपछि उनी एमालेमै बसे । तर, केपी शर्मा ओलीको दम्भ र घमण्डका कारण एमाले विभाजित भयो । उनले माधवकुमार नेपालले नेतृत्व गरेको नेकपा (एकीकृत समाजवादी) रोजे । उनी हाल एकीकृत समाजवादीको मकवानपुर उपाध्यक्ष छन् । उनले समाजशास्त्रमा एमएका साथै कानुनमा एलएलबी गरेका छन् ।

एमालेको ३० वर्षे यात्रामा ‘ब्रेक’
एमालेले २०४९ देखि २०७४ सम्म हेटौंडाको स्थानीय निर्वाचन जित निकालेको थियो । २०४९ र २०५४ को स्थानीय निकाय अन्तर्गत तत्कालीन हेटौंडा नगरपालिका एमाले निर्वाचित भएको थियो ।

नयाँ संविधान जारी भएपछि २०७४ सालमा भएको स्थानीय तहको पहिलो निर्वाचनमा पनि एमालेको किल्ला अन्य दलले भत्काउन सकेनन् । तर, एमालेबाट विद्रोह गरेको एकीकृत समाजवादीले २०७९ को निर्वाचनमा एमालेलाई धक्का दिएको छ ।

पुराना मतदाताका साथै हेटौँडामा थपिएका २० हजार ८ सय ७८ नयाँ मतदातालाई पनि मीनाले विश्वासमा लिएकी यो विजय परिणामले देखाएको छ ।

धुनीबेसी नगरपालिकामा आचार्य
धादिङको धुनीबेसी नगपालिकाको मेयरमा नेकपा (एकीकृत समाजवादी)का बालकृष्ण आचार्य निर्वाचित भएका छन् । आचार्य ८ हजार ७ सय ६ मत प्राप्त गरेर निर्वाचित हुँदा निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले)का मेयर पदका उम्मेदवार रामराजा पाण्डेले ६ हजार ५ सय ९२ मत प्राप्त गरे ।

यसअघि २०७४ को स्थानीय तह निर्वाचनमा एमालेबाटै बालकृष्ण आचार्य ६ हजार ६ सय ६४ मतसहित निर्वाचित भएका थिए । एमालेबाट विद्रोह गरेर आचार्यले नेकपा (एकीकृत समाजवादी) रोजेका हुन् ।

गौर नगरपालिकामा साह निर्वाचित
रौतहटको गौर नगरपालिकाको मेयरमा नेकपा (एकीकृत समाजवादी)का शम्भु साह निर्वाचित भएका छन् । नेकपा (एकीकृत समाजवादी)का केन्द्रीय अध्यक्ष माधवकुमार नेपालको गृह पालिका गौरमा गठबन्धन विनै एकीकृत समाजवादी निर्वाचनमा होमिएको थियो ।

एकीकृत समाजवादीका साह २ हजार ६ सय २६ मत अन्तरले निर्वाचित भएका हुन् । साहले ६ हजार ३ सय ८१ मत प्राप्त गर्दा उनका निकटतम प्रतिद्वन्द्वी लोकतान्त्रिक समाजवादी पार्टीका अजयकुमार गुप्ताले ३ हजार ७ सय ५५ पाएका थिए । गुप्ता निवर्तमान मेयर समेत हुन ।

यसअघि २०७४ सालको स्थानीय तह निर्वाचनमा तत्कालीन राजपा हालको लोसपाका गुप्ताले ५ हजार २ सय २३ मत ल्याएर विजयी भएका थिए ।

राजदेवी नगरपालिकामा यादव
रौतहटको राजदेवी नगरपालिकामा नेकपा (एकीकृत समाजवादी)का भिखारी यादव निर्वाचित भएका छन् । यादव ७ हजार ५२ मतसहित निर्वाचित हुँदा उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका धिरेन्द्र सिंहले ३ हजार ७ सय ७ मत प्राप्त गरे । सिंह निवर्तमान मेयरसमेत हुन । यसअघि २०७४ को निर्वाचनमा कांग्रेसका धिरेन्द्र सिंह २ हजार ७ सय ८० मत ल्याएर विजयी भएका थिए ।

शम्भुनाथ नगरपालिकामा गुप्ता
सप्तरीको शम्भुनाथ नगरपालिकाको मेयरमा नेकपा (एकीकृत समाजवादी)का उम्मेदवार निर्वाचित भएका छन् । मेयरमा ५ हजार ३९२ मत प्राप्त गरी जितेन्द्रप्रसाद गुप्ता कलवार निर्वाचित हुँदा उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका दिपेन्द्र चौधरीले ४ हजार १ सय ४३ मत प्राप्त गरे । यसअघि २०७४ सालको स्थानीय तह निर्वाचनमा कांग्रेसका योगेन्द्रप्रसाद चौधरी २ हजार ७ सय ७८ मतसहित निर्वाचित भएका थिए ।

घोडाघोडी नगरपालिकामा रावत
कैलालीको घोडाघोडी नगरपालिकाको मेयरमा नेकपा (एकीकृत समाजवादी)का खडकबहादुर रावत निर्वाचित भएका छन् । रावलले एमालेका ममताप्रसाद चौधरीलाई फराकिलो मतान्तरमा पराजित गर्दै निर्वाचित भएका हुन् ।

निर्वाचित रावतले १३ हजार १ सय २८ मत प्राप्त गरेका छन् भने उनका प्रतिद्वन्द्वी निर्वतमान मेयर ममताप्रसाद चौधरीले ८ हजार २ सय ४१ मतमा सीमित भएका छन् । यसअघि २०७४ सालको स्थानीय तह निर्वाचनमा कांग्रेसका ममताप्रसाद चौधरी ८ हजार १ सय ६४ मतसहित निर्वाचित भएका थिए ।

मदनदेउपुर नगरपालिकामा वाइवा
काभ्रेको मण्डनदेउपुर नगरपालिकाको मेयरमा नेकपा (एकीकृत समाजवादी)का टोकबहादुर वाइवा निर्वाचित भएका छन् । वाइवा ९ हजार ४ सय ६ मतसहित निर्वाचित हुँदा उनका निकटतम प्रतिस्पर्धी एमालेका विदुरप्रसाद सापकोटाले ८ हजार ३ सय ५१ मतमा सीमित भए ।

२०७४ सालको स्थानीय तहको निर्वाचनमा एमालेका तर्फबाट निर्वाचित वाइवा पार्टी विभाजित भएपछि एकीकृत समाजवादीको जिल्ला अध्यक्ष छन् । यसअघि २०७४ को निर्वाचनमा वाइवा ७ हजार ६ सय ४६ मतसहित निर्वाचित भएका थिए ।

सूर्योदय नगरपालिकामा राई
इलामको सूर्योदय नगरपालिकाको मेयरमा नेकपा (एकीकृत समाजवादी) का रनबहादुर राई निर्वाचित भएका छन् । राई १२ हजार ४ सय ३१ मतसहित निर्वाचित हुँदा उनले निकटतम प्रतिद्वन्द्वी एमालेका काजीमान कागतेले १० हजार ५ सय ७९ मत ल्याएका छन् । यसअघि २०७४ को निर्वाचनमा एमालेका रनबहादुर राई १२ हजार ९ सय १९ मतसहित निर्वाचित भएका थिए ।

खाँडाचक्र नगरपालिकामा शाही
कालिकोटको खाँडाचक्र नगरपालिकाको मेयरमा एकीकृत समाजवादीको समर्थन पाएका स्वतन्त्र उम्मेदवार कमलबहादुर शाही विजयी भएका छन् । शाहीले २ हजार ९१९ मत ल्याएर विजयी भए भने निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका जसीप्रसाद पाण्डेले २ हजार ६०९ मत ल्याए । एमालेले निवर्तमान मेयर पाण्डेलाई पुनः टिकट दिएको थियो । यसअघि एमालेका जसीप्रसाद पाण्डे २ हजार २ सय ५ मत ल्याएर विजयी भएका थिए ।

वृन्दावन नगरपालिकामा कुर्मी
रौतहटको वृन्दावन नगरपालिकामा एकीकृत समाजवादीका विनोद कुर्मी निर्वाचित भएका छन् । निवर्तमान मेयर कांग्रेसका रामस्नेही राय यादवलाई पराजित गर्दै कुर्मी मेयरमा निर्वाचित भएका हुन् । निर्वाचित कुर्मीले ६ हजार १ सय १२ मत ल्याएका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी यादवले ४ हजार ६ सय ७८ मत ल्याएका छन् । रौतहटमा राजनीतिक दलहरू छुट्टाछुट्टै निर्वाचन लडेका थिए ।
यसअघि २०७४ को स्थानीय तह निर्वाचनमा कांग्रेसका रामस्नेही राय यादव ५ हजार ७ सय ७० मत ल्याएर विजयी भएका थिए ।

कपुरकोट गाउँपालिकामा पुन
सल्यानको कपुरकोट गाउँपालिकाको अध्यक्षमा नेकपा एकीकृत समाजवादीका दुर्गा पुन निर्वाचित भएका छन् । पुन ३ हजार १ सय ६० मत ल्याएर निर्वाचित हुँदा निकटतम प्रतिद्वन्द्वी एमालेका भीमबहादुर सेनले २ हजार ९ सय ३६ मत मात्र ल्याए । तेस्रो स्थानमा आएका कांग्रेसका विष्णुप्रसाद शर्माले १ हजार ५ सय ७२ मत ल्याएका थिए ।
यसअघि कपुरकोट गाउँपालिकाको अध्यक्षमा एमालेका भीमबहादुर सेन ३ हजार १ सय ५२ मतसहित विजयी भएका थिए ।

छार्काताङसोङ गाउँपालिकामा गुरुङ निर्विरोध
डोल्पाको छार्काताङसोङ गाउँपालिकामा नेकपा (एकीकृत समाजवादी)का सेनाङ गुरुङ निर्विरोध निर्वाचित भएका छन् । गुरुङको मात्र उम्मेदवारी परेपछि उनी निर्विरोध निर्वाचित भएका हुन् । यसअघि २०७४ को निर्वाचनमा स्वतन्त्रबाट उठेका गुरुङ ३ सय ७ मत ल्याएर निर्वाचित भएका थिए । एमालेका धोता गुरुङ २ सय ८२ मत ल्याएर पराजित भएका थिए । यसपटक भने एमालेले उम्मेदवार उम्मेदवार नै पाएन ।

काइके गाउँपालिकामा राना
डोल्पाको काइके गाउँपालिकामा नेकपा (एकीकृत समाजवादी)का अंगदकुमार राना निर्विरोध निर्वाचित भएका छन् । रानाको मात्र उम्मेदवारी परेपछि उनी निर्विरोध निर्वाचित भएका हुन् । यसअघि एमालेबाट अंगदकुमार राना ९२० मत ल्याएर निर्वाचित भएका थिए । यसपटक भने एमालेले उम्मेदवार नै पाएन ।

तामाकोसी गाउँपालिकामा केसी
दोलखाको तामाकोसी गाउँपालिकाको अध्यक्षमा नेकपा (एकीकृत समाजवादी)का प्रोणप्रताप केसी निर्वाचित भएका छन् । एमालेको गढ मानिने दोलखाको तामाकोशीमा समाजवादीका केसी ५ हजार ४ सय ९० मत ल्याएर निर्वाचित हुँदा निकटम प्रतिस्पर्धी एमालेका अभिषेक सुवेदीले ३ हजार २ सय १० मत मात्र ल्याए ।
यसअघि २०७४ को निर्वाचनमा एमालेका ईश्वरचन्द्र पोखरेल ४ हजार ६ सय १५ मत ल्याएर निर्वाचित भएका थिए ।

उदयपुरगढी गाउँपालिकामा केप्छाकी मगर
उदयपुरको उदयपुरगढी गाउँपालिका अध्यक्षमा नेकपा(एकीकृत समाजवादी)का मानबहादुर केप्छाकी मगर निर्वाचित भएका छन् । केप्छाकी मगर ०७४ सालमा एमालेबाट अध्यक्षमा निर्वाचित भएका थिए । उनी एमालेबाट विद्रोह गरेर एकीकृत समाजवादीमा लागेका छन् । केप्छाकी मगर ४ हजार ९ सय ४२ मत ल्याएर अध्यक्षमा निर्वाचित हुँदा उनका निकटतम प्रतिद्वन्द्वी एमलेका गोपाल खत्रीले ४ हजार १ सय १४ मत ल्याएका छन् ।

सखुवानन्कारकट्टी गाउँपालिकामा यादव
सिरहाको सखुवानन्कारकट्टी गाउँपालिकामा नेकपा (एकीकृत समाजवादी)का केदारनाथ यादव निर्वाचित भएका छन् । निकटतम प्रतिस्पर्धी कांग्रेसका शत्रुघन प्रसाद साहलाई २६ मत अन्तरले पराजित गर्दै यादव दोस्रो कार्यकालका लागि अध्यक्षमा निर्वाचित भएका हुन् । २०७४ को निर्वाचनमा यादव एमालेबाट अध्यक्ष निर्वाचित भएका थिए ।

डोल्पोबुद्ध गाउँपालिका गुरुङ
उपल्लो डोल्पाको डोल्पोबुद्ध गाउँपालिका अध्यक्षमा एकीकृत समाजवादीको समर्थनमा स्वतन्त्र उम्मेदवार विजयी भएका छन् । माओवादी केन्द्रका उम्मेदवार तेम्बा गुरुङलाई पराजित गर्दै स्वतन्त्र उम्मेदवार कार्मा छोइवेल गुरुङ निर्वाचित भए । कार्माले ५ सय ३५ मत ल्याएका छन् भने तेम्बाको पक्षमा ३ सय २ मत ल्याएका छन् ।
यसअघि २०७४ को स्थानीय तह निर्वाचनमा स्वतन्त्र उम्मेदवार तेम्बा गुरुङ ५ सय ५३ मत ल्याएर विजयी भएका थिए ।

सोरू गाउँपालिकामा शाही
मुगुको सोरु गाउँपालिकाको अध्यक्षमा नेकपा (एकीकृत समाजवादी) का धर्मबहादुर शाही निर्वाचित भएका छन् । शाही ४ हजार ५५ मत ल्याएर विजयी हुँदा उनका निकटतम प्रतिद्वन्द्वी एमालेका डिल्लीप्रसाद भट्टले १ हजार ८ सय ८९ मत प्राप्त गरे । यो पालिकामा एकीकृत समाजवादी र माओवादी केन्द्रले तालमेल गरेका थिए ।
यसअघि २०७४ को स्थानीय तह निर्वाचनमा सोरु गाउँपालिकाको अध्यक्षमा कांग्रेसका लोकबहादुर शाही १ हजार ८ सय ५४ मतसहित निर्वाचित भएका थिए ।

मेयर जितेका पालिका
१. पोखरा महानगरपालका कास्की, धनराज आर्चाय
२. हेटौँडा उपमहानगरपालिका मकवानपुर, मीना कुमारी लामा
३. उदयपुरगढी नगरपालिका उदयपुर, मानबहादुर केप्छाकी मगर
४. शम्भुनाथ नगरपालिका सप्तरी, जितेन्द्रप्रसाद गुप्ता
५. गौर नगरपालिका रौतहट, शम्भु साह
६. राजदेवी नगरपालिका रौतहट, भिखारीप्रसाद यादव
७. सूर्यदय नगरपालिका इलाम, रनबहादुर राई
८. धुनीबेंसी नगरपालिका धादिङ, बालकृष्ण आचार्य
९. मण्डनदेउपुर नगरपालिका काभ्रेपलाञ्चोक, टोकबहादुर वाइवा
१०. राप्ती नगरपालिका चितवन, शमशेर लामा
११. घोडाघोडी नगरपालिका कैलाली, खडकबहादुर रावत
१२. वृन्दावन नगरपालिका रौतहट, विनोद कुर्मी

अध्यक्ष जितेका पालिका
१. सखुवानान्कारकट्टी गाउँपालिका सिराहा, केदारनाथ यादव
२. तामाकोशी गाउँपालिका दोलखा, प्रोणप्रताप केसी
३. केदारस्युँ गाउँपालिका बझाङ, गणेशबहादुर बोहरा
४. कपुरकोट गाउँपालिका सल्यान, दुर्गाबहादुर पुन
५. छार्का ताङसोङ गाउँपालिका डोल्पा सेनाङ गुरुङ
६. काईके गाउँपालिका डोल्पा, अंगदकुमार राना
७. सोरु गाउँपालिका मुगु, धर्मबहादुर शाही
८.नरैनापुर गाउँपालिका बाँके, इश्तियाक अहमद शाह

उप-प्रमुख/उपाध्यक्षहरू

१. ज्वालामुखी गाउँपालिका, धादिङ – धर्मबहादुर अर्याल
२. चौतारा साँगाचौकगढी, सिन्धुपाल्चोक – सीता थापा
३. बुंगल नगरपालिका, बझाङ – धनबहादुर बोहरा
४. सन्दकपुर गाउँपालिका, इलाम – हरिबहादुर लुङ्गेली
५. मेरिङदेन गाउँपालिका, ताप्लेजुङ – दुर्गाहाङ चोङहाङ
६. नौमुले गाउँपालिका, दैलेख – गंगाबहादुर शाही
७. बराहपोखरी गाउँपालिका, खोटाङ – भुवलराज राई
८. सभापोखरी गाउँपालिका, संखुवासभा – लक्ष्मी चापागाईं
९. पाँचखपन नगरपालिका, संखुवासभा – सुमुना श्रेष्ठ
१०. मादी गाउँपालिका, कास्की – देविजंग गुरुङ
११. राजदेवी नगरपालिका, रौतहट– राजकुमारी शाह
१२. बेनीघाटरोराङ गाउँपालिका, धादिङ – टापबहादुर श्रेष्ठ
१४. छबिसपाथिभेरा गाउँपालिका, बझाङ – लछिमन बोहरा
१५. डोल्पोबुद्द गाउँपालिका, डोल्पा – पेम्मा धोर्चे गु्रुङ
१६. गौर नगरपालिका, रौतहट – शैलकुमारी शाह
१७. शम्भुनाथ नगरपालिका सप्तरी – अनिताकुमारी चौधरी
१८. चन्खेली गाउँपालिका हुम्ला – प्रेमकला शाही
१९. रासकोट लमज कालिकोट– मणिराज बराल
२०. मुसिकोट पश्चिम रुकुम – विमलकुमार पुन
२१. वृन्दावन नगरपालिका रौतहट, संगितादेवी राम

मतदाता झुक्किए : खिमानन्द (कमल) पाण्डेय, एकीकृत समाजवादी पाल्पाका अध्यक्ष

मतदाताले स्थानीय तह निर्वाचनमा फरक चुनाव चिह्नमा मतदान गर्नै जानेनन् । चुनाव चिह्न तलमाथि भएका कारण पनि कतिपय मतदातालाई समस्या भएको पाइयो । म आफैँ बगनासकाली गाउँपालिकाको उपाध्यक्षमा निर्वाचन लडेको थिएँ । म पराजित भएको मतान्तरभन्दा बढी मत बदर भयो । मतदाता शिक्षाको कमीले गर्दा धेरैले रुख र कमल दुबैमा मतदान गरे ।

गठबन्धनले ८० प्रतिशत काम ग¥यो । चुनाव चिन्ह एउटै भएको भए शतप्रतिशत काम गर्ने रहेछ । सात वटा ठाउँमा मत हाल्दा धेरै मतदाता झुक्किए । यदि, कलम चिन्हमै सात वटै मत हाल्ने अवस्था भएको भए बदर हुने सम्भावना हुँदैन थियो । एउटै चुनाव चिन्ह नभइ पार लाग्ने देखिएन । जस्तो कि, पाल्पाको तानसेन नगरपालिकामा माओवादीका उपमेयरका उम्मेदवारले रुख चिन्ह लिएर जित्नुभयो । यो हाम्रो लागि नयाँ शिक्षा हो । आगामी दिनमा यस विषयमा पार्टीले गम्भीरतापूर्वक सोच्नुपर्छ । खिमानन्द पाण्डेले ४ हजार ८७८ मत पाउनुभएको थियो भने एक हजार ९९६ मत (कलम) बदर भएको थियो ।

प्रतिक्रिया दिनुहोस्