Logo
Logo

रुपन्देहीका उद्योगी व्यवसायी : बजेट राम्रो छ, कार्यान्वयन होस्



बुटवल । सरकारले प्रस्तुत गरेको आर्थिक वर्ष २०७९–०८० कोे बजेट नीजिक्षेत्रमैत्री भएपनि कार्यान्वयन पक्ष महत्वपूर्ण हुने रुपन्देहीका उद्योगी व्यावसायीले बताएका छन् ।

बजेटमा रुपन्देहीका धेरै आयोजना र क्षेत्रहरु समेटिएकोले बजेटबाट यस क्षेत्रका उद्योगी व्यावसायी उत्साहीत भएका छन् । बिगतका बजेटभन्दा यसपटकको बजेट पृथक रुपमा आएको उनीहरुले बताएका छन् ।

स्वदेशी उत्पादन प्रयोग, प्राथमिकतामा कृषि, उत्पादन तथा निर्यातमा जोड दिइनु राम्रो पक्ष रहेको बुटवल उद्योग बाणिज्य संघका अध्यक्ष उज्वल कसजु बताउँछन् । उनी भन्छन्–‘बजेटले यहाँका धेरै क्षेत्र समेटेकोे छ । द्रुत सडक निर्माण लगायतका योजना स्वागतयोग्य मान्न सकिन्छ ।’

रुपन्देही उद्योग संघका अध्यक्ष माधव पौडेलले सरकारले जारी गरेको बजेटले समग्र क्षेत्रलाई समेटेको बताएका छन् । बजेटमा स्थानीय उद्योगलाई जोड्ने काम राम्रो पक्ष रहेको उनको भनाइ छ ।

पौडेल भन्छन्– ‘कृषि, उद्योग क्षेत्रलाई बजेटमार्फत राहत मिलेको छ । समग्रमा बजेट उद्योग व्यावसायमैत्री छ । तर, कार्यान्वयन मुख्य कुरा हो । कार्यन्वयन होस भन्ने हाम्रो चाहना हो ।’

बजेटले कुषि, उद्योग, शिक्षा, खेलकुद, व्यापार लगायत सबै क्षेत्र समेटेको बुटवल उद्योग बाणिज्य संघका महासचिव बिमलराज भट्टराई बताउँछन् । उनी भन्छन्– ‘आयकरको दायरा बढाउनु राम्रोपक्ष हो । बजेटले धेरै क्षेत्र छोएकोले समृद्धि यात्राको सहयात्री हुने कुरामा विश्वास्त हुन सकिन्छ ।’

बजेटमा रुपन्देही
बजेटमा रुपन्देहीको कर्साघाटमा कृषिउपज केन्द्र निर्माण गर्ने, मोतिपूर औंद्योगिक क्षेत्र निर्माण गर्ने, विशेष आर्थिक क्षेत्र ‘सेज’ पूर्ण रुपमा संञ्चालन गर्ने, भैरहवमा एकीकृत भन्सार जाँच चौकी निर्माण गर्ने उल्लेख छ ।

त्यसैगरी अन्तर्राष्ट्रिय स्तरको द्रोस्रो टर्मिनल भवन निर्णय गर्ने, बुटवलमा इन्टरनेट एक्सचेन्ज केन्द्र स्थापनाबारे सम्भाव्यता अध्यनन गर्ने, तिनाउ नदीमा ‘सिग्नेचर बृज’ निर्माण गर्ने, बुटवल–बेलहिया सडक निर्माण गर्ने, सिद्धबाबामा सुरुङ मार्ग निर्माण गर्ने लगायतका रुपन्देही लक्षित बजेटमार्फत सरकारले योजना अघि बढाएको छ ।

बुटवल भैरहवा ट्राम यातायात संचालन गर्ने, सैनामैनामा ट्रमा सेन्टर स्थापना गर्ने, चितवन–रामपुर–बुटवल द्रुत मार्ग निर्माण गर्ने जस्ता योजना बजेटमा समेटिएका छन् । यी योजना रुपन्देहीका लागि नयाँ आयोजना हुन् । जसका लागि बजेट विनियोजन भएको छ ।

प्रतिक्रिया दिनुहोस्