Logo
Logo

जथाभावी पार्किङ गर्ने सवारीमा ‘ह्वील लक’



काठमाडौं, २५ पुस । महानगरीय ट्राफिक प्रहरी महाशाखाले काठमाडौं उपत्यकामा हुने अत्यधिक जामलाई व्यवस्थित पार्न र अनाधिकृत पार्किङलाई निरुत्साहित गर्न ‘ह्वील लक’ लगाउने कार्य सुरु गरेको छ ।
महाशाखाका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक वसन्तकुमार पन्तले अनाधिकृत रूपमा पार्किङ गर्ने सवारी साधनलाई विशेष कारवाहीअन्तर्गत ‘ह्वील लक’ लगाउन सुरु गरिएको बताए । मंगलबारदेखि सुरु गरिएको उक्त अभियानमा ४५ चारपांग्र्रे सवारी साधनमा ‘ह्वील लक’ लगाएर चालकलाई कारवाही गरिएको छ ।
ट्राफिक प्रहरीले ‘ह्वील लक’ लगाउँदा सम्बन्धित सवारी चालकलाई उक्त कारवाहीअन्तर्गत कहाँ र कसलाई सम्पर्क गर्ने भन्ने कुरा भने विस्तृत विवरणसहित तयार पारेको ‘स्टीकर’ चालकतर्फको झ्यालमा टाँस्नसमेत शुरु गरेको छ । महाशाखाका अनुसार ‘ह्वील लक’ खुलाउन ‘स्टीकर’मा लेखिएको ट्राफिक प्रहरीको मोबाइल वा ट्राफिक प्रहरीको हटलाइन १०३ मा सम्पर्क गर्नुपर्नेछ ।
यसअघि दरबारमार्ग क्षेत्रमा एक घण्टाभन्दा बढी पार्किङ गर्ने सवारी साधनलाई ‘ह्वील लक’ लगाउँदै आएको महाशाखाले मङ्गलबारदेखि उपत्यकाका विभिन्न स्थानमा नियमित अनुगमन तथा कारबाही सुरु गरेको हो । (रासस)

प्रतिक्रिया दिनुहोस्