Logo
Logo

आयल निगमको भलवारी डिपोका कारण ठूलो मानवीय क्षति हुने खतरा



बुटवल । मानव बस्ती जोखिम्मा परेको भन्दै स्थानीयले रुपन्देहीको भलवारीस्थित नेपाल आयल निगमको लुम्बिनी प्रादेशिक डिपो स्थानान्तरण गर्न माग गर्दै आएका छन् ।

बजार क्षेत्रमा रहेको डिपोका कारण सिंगो बस्ती जोखिममा रहेको भन्दै सोमबार प्रदर्शन गरेका स्थानीयले मंगलबार डिपोमा ज्ञापनपत्र बुझाएका छन् ।

बस्तीको बिचमा रहेको डिपोमा इन्धन लोड–अनलोडका क्रममा पटक–पटक आगलागीका घटना दोहोरिएका कारण स्थानीयले स्थानान्तरणको माग गरेका हुन् ।

तिलोत्तमा नगरपालिका–७ का बासिन्दाले सोमबार निगमको डिपो परिसरमा प्लेकार्डसहित प्रदर्शन गरेका थिए । प्रदर्शनमा सहभागी स्थानीयले यथाशीघ्र डिपो स्थानान्तरण गर्नुपर्ने, स्थानान्तरण नहुँदासम्म आगलागी हुन नदिन सुरक्षाको ग्यारेन्टी गर्नुपर्ने र ट्याङ्कर पार्किङ व्यावस्थित गर्नुपर्ने नारा लेखिएका प्लेकार्डसहित प्रदर्शन गरेका थिए ।

डिपो स्थानान्तरणका लागि लिखित प्रतिवद्धता नआएसम्म चरणवद्ध आन्दोलन जारी राख्ने डिपो प्रमुखलाई जानाकारी गराइएको प्रभावित क्षेत्रका स्थानीय एवं तिलोत्तमा उद्योग वाणिज्य संघका अध्यक्ष गुणनिधि भण्डारीले जानकारी दिए ।

स्थानीयले २०७४ सालमै डिपो स्थानान्तरण गर्न माग गर्दै ज्ञापन पत्र बुझाएका थिए । पछिल्लो पटक जेठ १३ गते शुक्रवार डिपोमा इन्धन खन्याउन आएका दुईवटा ट्याङकरमा आगलागी भएपछि स्थानीयमा झनै त्रास बढेको छ । लु २ ख ५६८५ र लु २ ख २६५६ नम्बरको ट्याङकरबाट नियमित प्रक्रिया अनुसार तेल खन्याउने क्रममा आगलागी भएको थियो ।

उक्त दिन नेपाल आयल निगमको लुम्बिनी प्रदेशको भलबारी डिपो र वरिपरिको बस्ती ठूलो दुर्घटनाबाट बचेको थियो । पेट्रोल भण्डारण क्षेत्रमै लागेको आगो छिटो निभाइएका कारण ठूलो दुर्घटनाबाट बचेको नेपाल आयल निगम लुम्बिनी प्रदेशका निर्देशक नवविनोद पोखरेल बताउँछन् । उक्त घटना र स्थानीयको मागबारे निगमको केन्द्रीय कार्यलयमा जानकारी गराइएको डिपो प्रमुख पोखरेल बताउँछन् ।

केही दिन अगाडि डिपोमा आगलागी हुँदा रुपन्देही, पाल्पा, नवलपरासी, अर्घाखाँची लगायत ८ जिल्लामा आपुर्ति गरिने करिव २७ सय इन्धन भण्डारण थियो । आगो थप फैलिएको भए आसपासका बस्तीमा ठूलो दुर्घटना हुन सक्थ्यो भन्ने सोझै अनुमान लगाउन सकिने स्थानीय बताउँछन् ।

आगलागीपछि नेपाल आयल निगमका प्रवन्ध निर्देशक उमेशप्रसाद थानीले निगमको डिपो परिषरमा ट्यांकरमा भएको आगलागीले पुर्याएको क्षति निरिक्षण गरेका छन् । उनले आगामी दिनमा यस्तो घटना हुन नदिन अत्यावश्यकीय सामग्रीे थप व्यवस्था गरिएने बताएका छन् ।

आयल निगमको जग्गा अझै अलपत्र
भलवारी डिपोमा ४ दिनका लागि पुग्ने पेट्रोयिम पदार्थ भण्डारण गर्न सकिन्छ । स्टक क्षमता पर्याप्त नभएका कारण प्रदेश राजधानीमै कुनैपनि बेला पेट्रोयिम पदार्थको हाहाकार हुन सक्छ । तर यस समस्याप्रति सरोकारवाको ध्यान जान सकेको छैन ।

भण्डारण क्षमता वृद्धि गर्ने भन्दै रुपन्देहीमा खरीद गरीएको नेपाल आयल निगमको जग्गा खरीदमा अनियमितताको विवादले लामो समयदेखि प्रयोगमा आउन सकेको छैन । अहिले जग्गा बिबाद नरहेपनि जग्गा प्रयोगविहीन छ ।

तत्कालीन लुम्बिनी अञ्चलका ६ जिल्ला लगायत अन्य केही जिल्लामा पेट्रोयिम पदार्थको आपूर्ति गर्दै आएको नेपाल आयल निगमले रुपन्देहीको भलबारी डिपोमा हाल डिजल, पेट्रोल, मट्टीतेल गरी करिव ४ हजार किलोलिटर मात्र स्टक गर्न सकिने क्षमता छ । यस क्षेत्रमा दैनिक खपत ९ सय देखि १ हजार किलोलिटर रहेको छ ।

dav

यदि, यस क्षेत्रमा स्टक क्षमता वृद्धि नगर्ने हो भने कुनैपनि वेला पेट्रोलियम पदार्थको हाहाकार हुन सक्छ । भलवारी डिपो प्रमुख नवबिनोद पोखरेल विद्यमान संरचना अनुसार ३ दिनभन्दा ४ दिनलाई पेट्रोलियम पदार्थ स्टक क्षमता नभएको बताउँछन् ।

यो डिपोवाट प्रदेशको मुकाम राजधानी रुपन्देही, पाल्पा, नवलपरासी, कपिलवस्तु, गुल्मी, अर्घाखाँची तथा पूर्वीनवलपरासी र स्याङजा जिल्लाका केही भागमा गरी करिव २ सय ५० पम्पमा तेल आपूर्ति हुँदै आएको छ ।

तिलोत्तमा नगरपालिकाको घनाबस्ती र ६ लेन सडकको किनारमा रहेको भलबारी डिपोमा तेल भण्डारण क्षमता बढाउनका लागि भौतिक पूर्वाधार थप गर्न नमिल्ने भएपछि निगमले डिपो स्थानान्तरण गर्ने निर्णय गरेको थियो ।

सो निर्णय अनुसार निगमले रुपन्देही जिल्लाको ओमसतिया गाँउपालिका ४ र ५ वडामा पर्ने रोहिणी नदी किनारमा १४ बिगाह ७ कठ्ठा १४ धुर जग्गा खरिद गरेकोे थियो ।

भू–माफियासँगको मिलेमतोमा भलबारी डिपोलाई स्थानान्तरण गर्न २०७४ सालमा खरीद गरिएको जग्गामा ठूलो रकम अनियमितता भएको भेटिएपछि अदालतमा मुद्धा परेको थियो । हाल जग्गा प्रकरणको मुद्धा टुंगो लागेपनि उक्त ठाउँमा आयल निगमको कार्यालय निर्माणको काम शुरु भएको छैन ।

रोहिणी नदी किनारमा किनिएको उक्त जग्गामा आधुनिक डिपो निर्माण गरी ९० दिनलाई स्टक गर्ने योजना रहेको छ ।

उक्त जग्गा निगमले १२ जनाबाट २ वर्ष अघि २०७४ असार २८ गते लिखित पास गरी कुल ३१ करोड ४० लाख ७९ हजार २० रुपैँयामा खरीद गरेको बताइएको छ । १ सय ४ वटा कित्तामा विभाजित सो जग्गा निगमका नाममा पास गरिएकोे मालपोत कार्यालय भैरहवा श्रोत बताउँछ ।

निगमले लिएको सो जग्गाको खरीद मुल्य एकमुष्ट झण्डै साढे ३१ करोड देखाइएको हो । तर जग्गा बिक्रेता स्थानीयहरुले भने त्यसको आधा मूल्य पनि नपाएको गुनासो गर्ने गरेका छन् । निगमको डिपो राख्ने भनिएको सो जमिन बाढीको उच्च जोखिम क्षेत्रमा पर्छ । वर्षामा त यो जग्गा पुरै डुबानमा पर्ने स्थानीय बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्