विराटनगर । राप्रपा नेपालका अध्यक्ष कमल थापाले राजेन्द्र लिङदेन नेतृत्वको राप्रपासँग सहकार्य गर्न सक्ने बताएका छन् ।
आइतबार विराटनगरमा आयोजित पत्रकार सम्मेलनमा उनले राजसंस्थाको एजेन्डामा पुनर्विचार गरे आगामी दिनमा राप्रपासँग सहकार्य हुनसक्ने बताएका हुन् ।

अध्यक्ष थपाले भने ‘हामी कांग्रेस, एमाले माओवादीसँग सहकार्य गर्न सक्छौँ भने राप्रपासँग सहकार्य गर्न नसक्ने भन्ने कुरा आउँदैन् तर सहकार्य र एकताका लागि राजसंस्थालाई हेर्ने दृष्टिकोणमा सुधार गर्नुपर्छ ।’
उनले डेढ दशकयता राजसंस्थासहितको प्रजातन्त्रका लागि पहल गर्दै आएको र अब राजसंस्था फर्कन सक्ने अवस्था नरहेको पनि बताए ।
पार्टीको अगुवा कार्यकर्ता भेलाका लागि यहाँ आएका उनले नेपालको धरातलीय यर्थात र जनभावनाअनुसार राजसंस्था पुर्नस्थापित हुनसक्ने सम्भावना शून्य भइसकेको बताए ।
उनले भने– ‘यो अवस्थामा असम्भव एजेन्डा बोकेर जनता र कार्यकर्तालाई भ्रममा राख्न हुँदैन्, राम्रा एजेन्डाहरू ओझेलमा पर्ने खतरा रहन्छ ।’ धार्मिक द्वन्द्व रोक्नका लागि नेपाललाई धार्मिक स्वतन्त्रतासहितको हिन्दुराष्ट घोषणा गर्नुपर्ने उनको धारणा छ ।














