
काठमाडौं । काठमाडौंको फर्पिङस्थित जंगलमा मृत भेटिएका युवक मकवानपुर र युवती दाङकी भएको खुलेको छ ।
प्रहरीका अनुसार सोमबार जंगलमा एकै ठाउँमा भेटिएको शव मकवानपुरको इन्द्रसरोवरका २० वर्षीय मनिस ठकुरी र दाङको राप्ती गाउँपालिकाकी २० वर्षीया बिमला कुमालको रहेको खुलेको हो ।
उपत्यका अपराध अनुसन्धान महाशाखाका प्रवक्ता एसपी कृष्ण कोइरालाले मृतक युवा युवतीको आज पहिचान भएको बताए ।
सोमबार दिउँसो जंगलमा उनीहरुको शव फेला परेको थियो। उनीहरुको साथमा भएका मोवाइल र अन्य कागजातका आधारमा शवको पहिचान भएको उनले बताए ।
शव नजिकै दुईवटा विषको बट्टा पनि भेटिएको र घटनास्थल हेर्दा आत्महत्या गरेको हुन सक्ने प्रहरीको अनुमान छ । शव पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल लगिएको छ । पोष्टमार्टम रिपोर्टपछि थप पुष्टि हुने उनले बताए ।











