बुटवल । बुटवल ज्योतिनगर र लक्ष्मीनगरवासी पहिरोको पिडा र त्रासमा रहेका छन् । गत वर्ष भदौ दोस्रो साता आएको ठूलो पहिरोका कारण प्रभावित यस क्षेत्रका वासिन्दामा वर्षा नजिकिएसँगै त्रास बढेको हो ।

बुटवल वडा नम्बर ३ को ज्योतिनगर र वडा नम्बर ४ को लक्ष्मीनगरमा पहिरोका कारण ठूलो धनमाल र भौतिक संरचनाको क्षति भएको थियो ।
उक्त ठाउँमा पहिरो नियन्त्रणको लागि बुटवल नगरपालिका र राष्ट्रपति चुरे संरक्षण आयोजनाबाट सामान्य ढल, कुलो सरसफाई मर्मत सम्भार र केही ठाउँमा ३० ÷४० लाखका सामान्य चेकड्याम वनाउने काम भएपनि ठोस रुपमा काम हुन सकेको छैन ।

जसका कारण प्रभावित क्षेत्रका पिडीतले देखिने र भेटिने गरि काम हुन नसकेको गुनासो गरिरहेका छन् ।
प्रदेश र संघीय सरकारवाट ठोस योजना र बजेट आउन नसक्दा स्थानीयवासी पिडा र त्रासमा मात्र छैनन् सरकारप्रति निरास पनि छन् ।
गत वर्ष भदौ दोस्रो साता आएको पहिरोका कारण यहाका नौ घर डुवानमा परेर पूर्णरुपमा क्षति भएको थियो भने १ सय ५० भन्दा बढी घर प्रत्यक्ष प्रभावित भएको थिए । यस क्षेत्रका केही परिवार विस्थापित भएका छन् । केही परिवार अहिले पनि पहिरोको जोखिममा परेको क्षेत्रमै छन् ।

३० वर्षदेखि यहाँ बस्दै आएका स्थानीय पहिरो पीडीतहरु सरकार भएको अनुभूति आफूहरुले नपाएको बताउँदै यस क्षेत्रको संरक्षणको लागि स्पष्ट योजना बनाएर अगाडि बढ्न पर्ने बताए ।
स्थानीय वीरबहादुर कुमाल नगरपालिकाले केही काम गरेपनि केन्द्रीय सरकारबाट पहिरो संरक्षणका लागि काम हुन नसकेको गुनासो पोखे ।

हुन त बुटवल उपमहानगपालिकाका नवनिर्वाचित मेयर खेलराज पाण्डेले ज्योतिनगर पहिरो क्षेत्रको अवलोकन गरी पहिरो नियन्त्रणका लागि नगरपालिकाले सक्दो सहयो गर्ने र पहिरो रोकथामका लागि विशेष योजना र बजेट संघीय सरकारसँग माग गर्न पहल गर्ने बताए ।
मेयर पाण्डे सोमवार पनि ज्योतीनगर पहिरो अवलोकन गर्न पुगेका थिए । उनले पहिरोको माथिल्लो भागको डाँडावाटा पानी तर्काउने काम सुरु भएको जानकारी दिए ।

उनले खासगरी बुटवल क्षेत्रको पहिरो नियन्त्रण, खानेपानी समस्या समाधन, बुटवल बजारको सडक निर्माण तथा सुकुम्बासी समस्या समाधानलगायतका सवालमा विशेष जोड दिएर काम सुरु गरेको दोहर्याउँदै आएका छन् ।
अर्का स्थानीय एवं निर्माण कमिटिका अध्यक्ष प्रदिप भण्डारीले गाउँपालिकाको सहयोगमा केही वाल, नलीको काम भएको बताए । सरकारबाट १५ हजार रुपैयाँबाहेक कुनै सहयोग नपाएको गुनासो गरे । केन्द्रीय सरकारले जनताको गुनासो सुन्नु पर्ने उनले माग गरे ।

बुटवल वडा नम्वर ४ का वडा अध्यक्ष नरिश्वर पौडेलले आफू निर्वाचित भएसँगै लक्ष्मिीनगर क्षेत्रको पहिरो अवलोकन गरि बैठक राखेर प्रदेश र केन्द्रीय सरकारलाई बजेट निकासीको लागि पत्राचार गरेको जानकारी दिए ।
उनले लक्ष्मी नगरको सुखौराखोलाको सिरमा रहेको ठूलो ढुंगासहितको पहिरो सफा नगर्ने र नियन्त्रणको काम नथाल्ने होभने बुटवलको ठूलो बस्ती प्रभावित हुने बताए ।











