Logo
Logo

इम्बोस्ड नम्बर प्लेट लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार


1.8k
Shares

काठमाडौं । यातायात व्यवस्था विभागले साउन एक गतेबाटै सडकमा गुड्ने सबै सवारीमा इम्बोस्ड नम्बर प्लेट अनिवार्य नभएको स्पष्ट पारेको छ ।

मंगलबार विज्ञप्ति जारी गर्दै साउन एक गते बिहानबाट सडकमा गुड्ने सबै सवारी साधनमा इम्बोस्ड नम्बर प्लेट जडान गर्नुपर्ने आशय विभागको नरहेको जनाएको छ ।

२०७८ कात्तिक २२ गतेको राजपत्रमा प्रकाशित सूचना बमोजिम ज-जसले इम्बोस्ड नम्बर अनिवार्य जडान गर्नुपर्ने थियो, ती सवारीमा यस्ता प्लेट जडान भएका छन् वा छैनन भन्ने कुरामा अनुगमन गर्नुपर्ने देखिएको विज्ञप्तिमा उल्लेख छ ।

‘इम्बोस्ड नम्बर प्लेट जडान ऐच्छिक विषय पनि होइन,’ विभागले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘सिमित समयमा कार्य पुरा गर्नका लागि आगामी दिनमा यो कार्यको गति तीब्र हुन जरुरी छ, सडकमा गुड्ने सबै सवारीमा साउन १ देखि नै इम्बोस्ड नम्बर अनिवार्य छैन ।’

विभागले अहिलेकै गतिमा इम्बोस्ड जडान गर्दा ४० दिनमा २५ लाख सवारीलाई सेवा दिन नसकिने स्वीकारेको छ । तर, विभागले राजजपत्रको सूचनाअनुसार अनिवार्य गरेका सवारीमा जोडिएको वा नजोडिएको भन्न्बारे अनुमगन आवश्यक देखिएको बताएको छ ।

हाल दुई लाख ५० हजार प्लेट उत्पादन भएर स्टोरमा रहेको विभागले जनाएको छ । इम्बोस्ड नम्बर प्लेट जडानका लागि पनि सबै पूर्वाधार तयार रहेको विभागको दाबी छ ।

विभागले इम्बोस्ड प्लेट जडानका लागि आवश्यक सबै पूर्वाधार तयार रहेको दाबी पनि गरेको छ । विभागले आवेदन प्रणाली, पर्सानलाइजेसन प्रणाली, फिटिङ गर्ने जनशक्ति, प्लेट ढुवानी व्यवस्था पनि तयार रहेको बताएको छ ।

विभागले इम्बोस्ड प्लेट रिड गर्ने आरएफआईडी गेट इम्बोस्ड प्लेटका लागि अनिवार्य नरहेको र उपयोगिता वृद्धि गर्ने संरचना मात्रै भएको बताएको छ । विभागमा परीक्षणका रुपमा गेट राखिएको भन्दै उसले १० वटा गेट जडानका लागि उपकरण आयात भइसकेको जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्