काठमाडौं । नेकपा एकीकृत समाजवादीका सांसद मेटमणि चौधरीले बिहीबारसम्ममा नयाँ मन्त्री पदको शपथग्रहण गरिसक्ने बताएका छन् । बुधबार प्रतिनिधिसभाको बैठकका लागि नयाँ बानेश्वरस्थित संसद् भवनमा सांसद चौधरीले सञ्चारकर्मीहरूलाई संक्षिप्त प्रतिक्रिया दिँदै मन्त्री पदको शपथग्रहण बिहीबारसम्ममा गरिसक्ने बताएका हुन् ।

उनले जनता समाजवादी पार्टी (जसपा)को आन्तरिक समस्या सम्बोधन गर्नका लागि केही दिन समय मागेका कारण एकीकृत समाजवादीबाट मन्त्रीमा सिफारिस भएकाहरूको शपथग्रहण रोकिएको बताए ।
पार्टीले गरेको निर्णय कार्यान्वयन हुने उनको भनाइ छ । ‘पार्टीले निर्णय र्गयो । निर्णय गरिसकेपछि कार्यान्वयन हुन्छ । तर, आज हामी पाँचदलीय गठबन्धनभित्रकै एउटा दल हो । एउटा पार्टी हो । हामीले शपथग्रहण गर्ने टाइम कन्फर्म गरिराख्दाखेरि जसपाका साथीहरूले केही दिन हामीलाई पनि पार्टीभित्रको आन्तरिक समस्या सम्बोधनको लागि केही समय चाहिन्छ भनेपछि केही दिन ढिला मात्रै भएको हो,’ उनले भने, ‘मन्त्री त सम्भवतः आज, नभए भोलिसम्म फाइनल हुन्छ । आज भएन भने शपथग्रहण भोलि पक्कै हुन्छ ।’
उनले माओवादी केन्द्र र नेपाली कांग्रेसलाई पनि मन्त्री हेरफेर गर्न दबाब रहेको भन्दै सबै पार्टीले एकैपटक शपथ गराउन शपथग्रहण पछि सार्न पार्टी अध्यक्ष माधवकुमार नेपाल पनि सहमत भएको बताए ।
‘माओवादीभित्र पनि प्रेसर छ । कांग्रेसभित्र पनि प्रेसर छ । सबैले एकैपटक गरौँ, दुई दिनभित्र टुंगिन्छ भनेपछि ठीकै छ नि त भनेर हाम्रो अध्यक्षले गर्नुभयो । यसलाई अपरिपक्व निर्णय भन्न मिल्दैन । शपथ सकभर आज, नभए भोलि ग्यारेन्टी हुन्छ ।’











