काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पार्टीले निर्णय गरेअनुसार मन्त्रीहरू परिवर्तन हुने बताएका छन् ।
आज (बुधबार) एकीकृत समाजवादीको विद्यार्थीको जिल्ला कमिटीको सपथ ग्रहण कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले सो कुरा बताएका हुन् ।

उनले आफूहरूले मन्त्री परिवर्तनको निर्णय गरेपछि अरू पार्टीमा भूकम्प गएको पनि बताए । उनले भने, ‘हाम्रो पार्टीले निर्णय गर्यो अरू पार्टीमा भूकम्प गयो । दोषजति हाम्रा मन्त्रीलाई नदिऔं । अब जाने मन्त्रीले राम्रा काम गरुन्ँ ।’
उनले पार्टीले ६ महिनाका लागि मन्त्री पठाएको र आठ महिना भइसकेकाले परिवर्तन गर्ने निर्णय गरेको बताए । उनले भने, ‘६ महिना भनेको हो, आठ महिना भयो । राम्रो काम गरेकालाई धन्यवाद दिऔं ।’
पूर्वप्रधानमन्त्री समेत रहेको नपालले मन्त्रीहरुले पार्टी निर्णय नमान्ने नभनेको पनि बताए । उनले भने, ‘मन्त्रीहरूले पार्टीको निर्णय मान्न तयार छौं भनेका छन् । मन्त्रीको कुर्सीमा टाँसिएर बस्ने छैनौं भन्नुभएको छ ।’
एकीकृत समाजवादीले पुराना मन्त्री फिर्ता बोलाएर नयाँ पठाउने भने पनि सपथ भएको छैन । बजेट पास गरेपछि मात्रै मन्त्री परिवर्तन गर्न सत्ता गठबन्धनभित्र सहमति भएको थियो ।











