काठमाडौं । काठमाडौं उपत्यका फोहोर बोकेर बञ्चरेडाँडा गएका टिपरहरू फोहोर नफाली फर्किएका छन् । बुधबार पनि बञ्चरेडाँडाका स्थानीयले अवरोध गरेपछि फाहोर नफाली नै टिपरहरू फर्किएको हो ।

हिजो (मंगलबार)देखि प्रहरीको सहयोगमा फोहोर व्यवस्थापन सुरु गरिएको थियो । तर, बुधबार पनि स्थानीयले अवरोध गरेपछि फोहोर नफाली नै टिपर फर्किएको संघर्ष समितिका संयोजक श्रीराम ढुंगानाले जानकारी दिए ।
फोहोर फाल्ने क्रममा बुधबार प्रहरी र स्थानीयबीच झडप समेत भएको छ । प्रहरीले केही सेल अश्रुग्यास प्रहार गर्नुको साथै केही स्थानीयलाई नियन्त्रण लिएको छ ।
बुधबार बञ्चरेडाँडामा फोहोर फाल्नको लागि काठमाडौंबाट दुई सय बढी प्रहरी खटिएका छन् । त्यस्तै सशस्त्र प्रहरी पनि परिचालन गरिएको छ ।
स्थानीयहरू बञ्चरेडाँडामा कुनै हालतमा फोहोर फाल्न नदिने पक्षमा रहेको ढुंगानाले बताए । ‘हामी सबै यहाँ डाँडामै छौं, हामी यहाँ फोहोर फाल्न दिन्नौं । ३६५ दिन नै यहाँ बस्छौं ।’
सोमबार सहरी मन्त्रालय, काठमाडौं महानगर, धादिङ र नुवाकोटका जनप्रतिनिधिबीच फोहोर फाल्ने सहमति भएको थियो । मंगलबारदेखि काठमाडौं उपत्यको फोहोर उठेपनि विसर्जन गर्ने स्थानमा स्थानीय बासिन्दाले अवरोध गर्दै आएका छन् ।











