Logo
Logo

‘चेम्बर एक्स्पो २०२२’ असार २ गतेदेखि


315
Shares

काठमाडौं । नेपाल चेम्बर अफ कमर्शले आगामी असार २ गतेदेखि ‘चेम्बर एक्स्पो २०२२’ गर्ने भएको छ ।

चेम्बरले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय र व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रसँगको सहकार्यमा एक्स्पो गर्न लागेको हो । एक्स्पोको उक्त पाँचौं संस्करण काठमाडौंको भृकुटीमण्डपमा हुनेछ ।

पाँचौं संस्करणमा व्यापारिक अन्तरक्रिया, आयात–निर्यातको सूचना आदान–प्रदान तथा नेपाली उत्पादनको बजारीकरणमा विशेष जोड दिइने चेम्बरले जानकारी दिएको छ ।

मेलामा अन्तरराष्ट्रिय व्यापारिक समुदायको प्रत्यक्ष सहभागिताले अन्तरराष्ट्रिय क्षेत्रमा भइरहेका आर्थिक क्रियाकलापका बारेमा जानकारी पाउन नेपाली उद्योगी व्यवसायीलाई सजिलो हुने आयोजकको दाबी छ ।

त्यस्तै अन्तरराष्ट्रिय नवीन प्रविधिको प्रयोग एवं व्यापार व्यवस्थापनका नयाँ आयामलाई नजिकबाट नियाल्न समेत नेपाली उद्योगी व्यवसायीलाई सहयोग पुग्ने अपेक्षा आयोजकको छ ।

चेम्बरले उक्त एक्स्पोमार्फत निकासीयोग्य वस्तुको प्रवर्द्धन गर्न सबै व्यापारिक समुदायलाई प्रोत्साहन गर्ने तथा त्यसका लागि आवश्यक पहल कदमी समेत गर्ने उद्देश्य लिएको बताइएको छ ।

एक्स्पोमा बंगलादेशलाई कन्ट्री पार्टनरको रूपमा राखिएको छ । बंगलादेशका निर्यात प्रवर्द्धन ब्युरो र वाणिज्य मन्त्रालयको सहकार्यमा उद्योगी व्यवसायी सहभागी हुने चेम्बरको भनाइ छ । चेम्बरका अनुसार मेलामा १५० ओटा स्टल रहनेछन् ।

सोमध्ये १०० ओटा स्टलमा राष्ट्रिय एवं अन्तरराष्ट्रिय कम्पनी तथा उद्योगी व्यवसायीको सहभागिता हुनेछ । नेपाल लगायत भारत, पाकिस्तान, बंगलादेश तथा अन्य मुलुकमा उत्पादित सामग्री एक्स्पोमा रहने बताइएको छ । त्यसका लागि स्टलहरू बुकिङ भइरहेको आयोजकले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्