काठमाडौं । धादिङको त्रिपुरासुुन्दरी गाउँपालिका-५ घिमिरेगाउँमा पहिरोले घर पुरिँदा एक जना बेपत्ता भएका छन् ।
पहिरोले घर पुरिएपछि ५५ वर्षीय सीताराम भनिने नेत्रप्रसाद खाण हराउनु भएका जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी निरीक्षक सूचना अधिकारी राम थापाले जानकारी दिए ।
गएरातिको अविरल वर्षाले घरमाथि सडक खनेर थुपारिएको माटोको ढिस्कोसहित ल्याएको लेदोले घर पुरिएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार घरका अन्य सदस्य अर्को घरमा भएकाले उनीहरु सकुशल रहेका छन् । खाणको अवस्था भने पत्ता लागेको छैन । ठूलो पहिरोले घर पुरिएको कारण उद्धारमा समस्या भइरहेको छ । स्थानीय नागरिक, समाजसेवी र नेपाल प्रहरीको सहयोगमा उद्धारकार्य भइरहेको प्रहरीले जनाएको छ ।
नेपाल रेडक्रस सोसाइटीका सभापति नारायण तिमल्सिनाका अनुसार घटनास्थलमा डोजर जान नसकेको र थप उद्धार टोली आवश्यक भएको छ ।














