Logo
Logo

गोरखामा बाढी–पहिरोको बितण्डा: घरसहित हजारौँ रोपनी खेत बगायो


0
Shares

फाेटाेः शिव उप्रेती

बिहिबार रातिको बर्षापछि आएको बाढी र पहिरोले गोरखाका विभिन्न ठाउँमा क्षति पुर्याएको छ । पालुङटार–६ का केशरबहादुर थापाको घर पहिरोले बगाएको छ ।

९ नं वडामा मोटरेबल पुल र खेत बगाएको वडाअध्यक्ष भेजराज पाण्डेले जानकारी दिए । आठ घर पहिरोले क्षतिग्रस्त छन् । सरस्वती विक, खेलबहादुर गुरुङ, पदमबहादुर थापा, वीरबहादुर राना, ज्योति राना लगायतको घरमा पहिरोले क्षति पुगेको प्रहरीको भनाइ छ ।

त्यस्तै छापथोक उखुबारीको बस्ती माथिबाट झरेको पहिरोले ४ घर उच्च जोखिममा रहेको ६ नं वडाका वडाअध्यक्ष चेतबहादुर गुरुङले जानकारी दिए । जगतबहादुर गुरुङ, रञ्जना गुरुङ, टेकबहादुर गुरुङ र सोमबहादुर गुरुङको घरमा पहिरो पसेको छ । त्यस्तै पालुङ्टार–९ जोगीबेशीको राममाया कुँबरको घर स्थानीय खहरेखोलाले क्षतिग्रस्त बनाएको छ ।

स्थानीय चुतीखोलाको बाढीले सेराबजार जोखिममा पारेको छ । बाढीले जोगीबेशीदेखि विर्दीसम्म करिब ३५ सय रोपनी खेत बगाएको छ ।

पाक्न लागेको बर्खेधान र रोपाइँको तयारी भइरहेको फाँट बाढीले बगाएपछि किसान चिन्तित छन् । सेरा सडकस्थित बिर्दीपुल चुती खोलाको बाढीले बगाएको छ ।

पहिरोले बारकिलो बारपाक सडक पनि अवरुद्ध भएको छ । सिरानचोक गाउँपालिकाको बिरालेझ्याङ र केराघारीमा पहिरो झर्दा सडक अबरुद्ध भएको प्रहरी कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्