काठमाडौं । नेपाल र बेलायतबीच सातादिन भित्र श्रम समझदारी हुने भएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका अनुसार रोजगारीका लागि नेपाली नर्स बेलायत पठाउन नेपाल र बेलायतबीच आगामी साता श्रम समझदारी हुने भएको छ ।
श्रम समझदारीको मस्यौदा तयार गर्न गठित दुबै देशका प्रतिनिधि सम्मिलित समितिले अन्तिम मस्यौदा तयार गरिसकेको मन्त्रालयले जनाएको छ ।

शुक्रबार श्रममन्त्री कृष्णकुमार श्रेष्ठसँग नेपालका लागि बेलायती राजदूत निकोला पोलिटले शिष्टाचार भेट गरी श्रम समझदारीको तयारीबारे छलफल गरेका छन् ।
छलफल नेपाल–बेलायतबीच सन् १८१६ मा कुटनीतिक सम्बन्ध स्थापित भएदेखिका आपसी हितबारे भएको बताइएको छ ।
बेलायतमा रोजगारीका लागि सुरूमा दुई हजार नर्स पठाउन तयार रहेको मन्त्री श्रेष्ठले बताए । त्यसका लागि वैदेशिक रोजगार विभाग, नर्सिङ कलेजहरु र बेलायत सरकारबाट सहयोगको अपेक्षा गरिएको मन्त्री श्रेष्ठले बताए ।














