तनहुँ । पृथ्वी राजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका- ४ साखरस्थित बाँध नजिक शुक्रवार बिहान सडक भासिँदा मृत्यु भएका दुवै पुरुषको सनाखत भएको छ । घटनापश्चात दमौली अस्पतालमा राखिएको शव मृतकका आफन्तजनले पहिचान गरेपछि सनाखत भएको हो ।
सो घटनामा परी मृत्यु हुनेमा गोरखा जिल्ला सिरानचोक गाउँपालिका- ५ छोप्राक घरभई हाल आँबुखैरेनीमा बस्दै आएका ३५ वर्षीय केशव घिमिरे र मकवानपुरको हेटौँडा उपमहानगरपालिका- ७ निवासी ३३ वर्षीय हेमबहादुर भुजेल रहेको जिल्ला ट्राफिक कार्यालय तनहुँका प्रमुख प्रहरी नायव निरीक्षक गोकर्ण नेपालले जानकारी दिए।
सडक भासिएको मर्स्याङ्दी नदी किनारमा दुई पुरुषको शव भेटिएपछि पोखरा र चितवनबाट आएको गोताखोर टोलीले नदीमा खोजतलास कार्यलाई तीव्रता दिइरहेको छ ।
भासिएको सडक विस्तारको लागि सडक डिभिजन कार्यालयका प्राविधिक टोलीले काम गरिरहेको छ । ठूला सवारी पास नहुने भएकाले साना सवारीलाई काम गरेको समयमा रोकेर अन्य समयमा पठाउने गरिएको प्रहरी नायव निरीक्षक नेपालले बताए ।











