Logo
Logo

कलेजो प्रत्यारोपणपछिको नयाँ जीवन


नारायण अधिकारी/रासस

2.3k
Shares

चितवन । कलेजो प्रत्यारोपणपछि पुनर्जीवन पाएका जाजरकोटका भरतविक्रम शाही दङ्ग छन् । नेपालमै आफूले कल्पना गरेभन्दा उच्चस्तरको उपचार विधि देखेर उनी दङ्ग गरेका हुन् । सुरुका दिनमा बाँचिएला भन्ने कम आशा बोकेका शाही अहिले तन्दुरुस्त छन् । पूर्ववत् आफ्ना काममा उनी जुट्दै आएका छन् ।

पुनः परीक्षणका लागि यहाँको चितवन मेडिकल कलेज आएका शाहीले खुसी हुँदै सँगै रहेका चिकित्सकलाई पुनर्जीवन दिएकोमा धन्यवाद दिए । गत वर्षको असार १८ गते शाहीले यसै मेडिकल कलेजमा कलेजो प्रत्यारोपण गरेका थिए । उनको कलेजो डा सञ्जयकुमार यादवको समूहले प्रत्यारोपण गरेको थियो ।

“कलेजोको सिरोसिस भएपछि पहिलेकै अवस्थामा फर्किन्छु भन्ने लागेकै थिएन”, शाहीले भने, “अहिले नयाँ जीवन पाएको अनुभव गरेको छु ।” उनले स्वास्थ्य मात्रै राम्रो पाएका छैनन् । पूर्ववत् अवस्थामा नियमित काम गर्नसक्ने भएका छन् । शाहीले भने, “मेरो पुनर्जन्म भएको छ । यो खालको जीवन पाउँला भन्ने सोचेको पनि थिइन् ।”

कलेजो प्रत्यारोपण गर्दा लाग्ने रकम, आफन्तभित्रै कलेजो दाता खोज्नुपर्ने, रगतको समूह र अन्य कुरा मिल्नुपर्ने समस्या पार गर्दै आफ्नै श्रीमतीबाट कलेजो लिएर प्रत्यारोपण गरेको शाहीले अहिले फूर्तिलो मात्रै हुनुहुन्न, उनले गर्दै आएको शिक्षण पेसासँगै बिहान बेलुका श्रीमतीलाई व्यापारमा सघाउँदै आएका छन् । जाजरकोटको कुसे गाउँपालिका–९ निवासी शाही अहिले कलेजो प्रत्यारोपण गरेको छु भन्ने महुसस गर्न छाडेका छन् ।

उनले भने, “अहिले मेरो स्वास्थ्य सोचेभन्दा धेरै राम्रो छ ।” पहिलेको जस्तै सक्रिय काम गर्ने बताउँदै उनले अगाडि थपे । “म अहिले दिउँसो विद्यालयमा पढाउँछु, बिहान बेलुका घरमा व्यापार छ, श्रीमतीलाई व्यापारमा सघाउँछु । स्वास्थ्यका हिसाबले कुनै गारोसाह्रो परेको छैन ।”

कलेजो रोग लाग्ने सुरुआती चरणमा खुट्टा, पेट फुल्ने, कहिलेकाहीँ ‘फेन्ट’ (चक्कर) हुँला जस्तो हुने, एकोहोरो हुने, आफ्नै दिमाग ठीक छ कि छैन जस्तो हुने लक्षण देखिएको अनुभव उनले सुनाए । पेट फुलेर आफैँलाई लाज लाग्ने खालको भएको उनको भनाइ छ । उनको विसं २०७८ फागुनदेखि नै कलेजोमा समस्या देखिएको थियो । त्यसपछि भारतको लखनउ गएर तीन पटकसम्म परीक्षण गराएका शाहीले जाजरकोटबाट १५–१५ दिनमा लखनउ जानुपर्ने बाध्यता थियो । त्यहाँको चिकित्सकले ८० प्रतिशत कलेजो खराब भइसकेको र औषधि खायो भने निको हुन्छ भन्ने गरेको उनी स्मरण गर्छन् । गत वर्ष लकडाउन भएपछि भारत जान नसकेपछि उनी नेपालगञ्जको मेडिकल कलेजमा परीक्षण गराए । त्यहाँको चिकित्सकले कलेजो खराब भइसकेको र प्रत्यारोपण ग¥यो भने बाँच्न सकिने नत्र बाँच्ने सम्भावना कम भएको बताएपछि उहाँ काठमाण्डौं हुँदै चितवन आईपुगेका थिए ।

काठमाडौँको टिचिङ अस्पतालमा केही समयसम्म परीक्षण गराएर छिटो प्रत्यारोपणका लागि उहाँ चितवन मेडिकल कलेजमा आईपुगेका हुन् । “प्रत्यारोपण गर्नुपूर्व कतै श्रीमान् श्रीमती दुवै जना अप्ठ्यारोमा पर्छौ कि ? वा एक जनालाई कुनै अप्ठ्यारो हुन्छ वा जटिलता आउँछ कि ? भन्ने डर लागिरहेको थियो”, उनले भने, “अरुको भन्दा पनि मेरो केस जटिल थियो । चिकित्सकले ९० प्रतिशत सफल हुन्छ, १० प्रतिशत फेल पनि हुनसक्छ भन्नुभएको थियो ।” आफूले जसरी भए पनि प्रत्यारोपण गरिदिनुहोस् भनेर चिकित्सकलाई अनुरोध गरेको उनले बताए । “अहिले हामी दुवै जना खुसी जीवन बिताइरहेका छौं”, उनले भने ।

उनको प्रत्यारोपणपछि गाउँपालिकाले पाँच लाख उपचार खर्च दिने नियम नै बनाएको छ । सोहीअनुसार आफूले पनि रु पाँच लाख सहयोग पाएको उनले जानकारी दिए । साथीभाई, इष्टमित्रको सहयोगबाट खर्च जुटाएर कलेजो प्रत्यारोपण गराएको उनले बताए ।

आफूले पाएको नयाँ जीवन शैक्षिक गुणस्तर सुधारसँगै सामाजिक क्षेत्रमा बिताउने उहाँको योजना छ । कलेजो बिग्रिएकालाई समयमै प्रत्यारोपण गर्न उहाँको सुझाव छ । उनले भने, “समयमै प्रत्यारोपण गरियो भने खर्च पनि कम हुन्छ । जीवन पनि सफल हुन्छ, बाच्न सकिन्छ । प्रत्यारोपण गर्न डर मान्यो भने खर्च उत्ति नै हुन्छ, परीक्षण गर्न गइरहनुपर्छ । औषधि खाइरहनु पर्छ ।”

डा यादव कलेजो प्रत्यारोपण गरेर पुनः पहिलेकै जस्तो स्वस्थ हुन सकिने बताउँछन् । उनले भने, “कलेजोको सिरोसिस भएर पेटमा पानी जमेको, जण्डिस भएको छ, मुखबाट रगत वान्ता भएको छ, बेहोस हुनुपर्ने अवस्था छ, रगतमा प्लेटलेसको सङ्ख्या कम छ र ७० देखि ८० प्रतिशत कलेजो ड्यामेज (खराब) भइसकेको छ भने त्यस्ता व्यक्तिको ६ महिनादेखि २ वर्षको आयु हुन्छ”, त्यस्ता व्यक्तिलाई कलेजो प्रत्यारोपण गरियो भने भरतविक्रम शाहीजस्तै सामान्य जीवनमा फर्किन सक्ने उनी बताउँछन् । उनले भने, “स्वास्थ्य मात्रै सामान्य होइन, कि आफ्नो काम र पेसामा नियमित जान सकिन्छ ।”

कलेजका अध्यक्ष एवं प्रबन्ध निर्देशक प्रा डा हरिश्चन्द्र न्यौपानेले हालसम्म छ जनाको कलेजो प्रत्यारोपण गरिएको बताए । प्रत्यारोपणका लागि विदेश जानु नपर्ने भन्दै उनले विश्वका अन्य मुलुकमा भएका आधुनिक प्रविधि र उपकरणसहितको दक्ष चिकित्सक आफ्नो कलेजमा भएको दाबी गरे ।

प्रतिक्रिया दिनुहोस्